Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारीले एक करोड ३६ लाख खाइदियो, ५ लाख उपचार खर्च नहुँदा गयो स्थापितको ज्यान

मृतक स्थापितको शवसँगै सहकारीपीडितले गरिरहेका छन् आन्दोलन
आइतबार, साउन २७, २०८१

काठमाडौं– सहकारीले एक करोड ३६ लाख रकम खाइदिएका राजेन्द्र स्थापितको ५ लाख उपचार खर्च नहुँदा ज्यान गएको छ। 

युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा उनले एक करोड ३६ लाख रूपैयाँ बचतमा राखेका थिए। तर, सहकारीले हिनामिना गरेको र रकम फिर्ता पाउन नसक्दा उपचारसम्म गर्न पाएनन्।  

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले स्थापितको शवसहित सडक प्रदर्शन गरिरहेको छ। 

‘मृतक पीडित ८० वर्षीय राजेन्द्र स्थापितलाई ब्रेन ह्यामरेज भएको थियो,’ महासंघका अध्यक्ष कुशलव केसीले भने, ‘हामीले उनले रकम राखेको सहकारीका अध्यक्ष र डाक्टरलाई राखेर कुराकानी पनि गरेका थियौं, अध्यक्षले पैसा दिने कबुलेका पनि थिए। तर पाउन सकेनन्।’ 

पाँच लाख रूपैयाँ नहुँदा स्थापितको उपचार नै नभई मृत्यु भएको दाबी संघले गरेको छ। संघका अनुसार चार दिनसम्म उनको उपचार भएको थिएन भने शनिबार बिहान स्थापितको मृत्यु भएको थियो। 

कुनै सन्तान नभएकोले स्थापितकी श्रीमतीको संरक्षणको लागि सरकारले पहल गरिदिनुपर्ने महासंघको भनाइ छ। 

महासंघले मृतकको शवसहित माइतीघर मण्डलासम्म र्याली गर्नेछ।

पीडितहरू गत जेठ ११ गतेदेखि रिले अनसनमा छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले समर्थन गर्दै यसअघिदेखि आन्दोलनमा सहभागिता जनाउँदै आएका छन्।

महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ।

प्रतिनिधि सभामा सहकारी ठगीको छानबिनका लागि संसदीय समिति गठन भए पनि त्यसले प्रतिवेदन बुझाइसकेको छैन। सरकारले सहकारी पीडितको न्यायका निम्ति खासै काम नगरेको पीडितको आरोप छ।
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्