Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमला पुल निर्माण थाल्न ७ दिने अल्टिमेटम

आइतबार, साउन २७, २०८१

काठमाडौँ- हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माण प्रक्रिया सात दिन भित्र थाल्न माग गर्दै संघर्ष समितिले मधेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

सिरहा सदरमुकामबाट मोटरसाइकल र्‍यालीसहित दर्जनौँको संख्यामा आएका प्रदर्शनकारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले ज्ञापन पत्र बुझाउँदै सात दिन भित्र पुल निर्माण प्रक्रिया नथालिए मुख्यमन्त्री कार्यालय अगाडि सामूहिक आमरण अनशन बस्ने चेतावनी दिए ।

समितिले कमला नदीमा यथाशीघ्र पुल निर्माण गर्नुपर्ने एक सूत्रीय माग राखेको छ । पहिलाको पुलको डिजाइन नै गलत भएकाले निर्माणाधीन अवस्थामा भासिएको भन्दै संघर्ष समितिले, त्यसलाई मर्मत गर्नुको साटो नयाँ डिजाइन गरेर नयाँ पुल बनाउनुपर्ने माग रोखेको छ । प्रदेश सरकारले आफ्नै लगानीमा पुल बनाउनु पर्ने संघर्ष समितिको माग छ ।

१३ वर्षदेखि निर्माणाधीन कमला नदीको पुल सन्चालनको तयारीमा हुँदा अत्यधिक बाढीले १७ असार २०७८ मा भासिएको थियो । २०६८ मंसिरमा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको थियो । तर पटक पटक म्याद थप्दा १० वर्षसम्म पनि निर्माण सम्पन्न भएन ।

२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । २०७८ असार १३ भित्र सक्ने गरी काम भइरहेको बेला पुल नै भासिएको थियो ।

पुल नबन्दा दक्षिणी क्षेत्रका लाखौँ नागरिकले सास्ती खेप्नु परेको छ । सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत भइरहेको छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सिंहले आफू सप्तरीकै बासिन्दा भएकाले जनकपुर आउ-जाउ गर्दा कठिनाइको सामना गरिरहेको बताए । पुलको निर्माण संघीय सरकार मातहत रहेकाले यस विषयमा पटक-पटक ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

पुनः संघीय सरकारको नेतृत्वलाई भेटेर निर्माणको जिम्मा मधेश सरकारले लिने गरी छलफल गर्ने मुख्यमन्त्री सिंहले बताए ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्