Nic Ad Nic Ad
Nic Ad Nic Ad

भरतपुर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा

आइतबार, साउन २७, २०८१

चितवन - भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरेका हुन् । 

महानगरपालिकाभित्र रहेका ३१ हजार आठ सय ११ परिवारका १७ हजार ९४ बालबालिकामध्ये १२ हजार नौ सय ९८ बालबालिकाले पूर्णखोप पाएका छन् । १६ महिनादेखि ५९ महिनासम्मका ती बालबालिकाले पूर्णखोप पाएको र चार हजार तीन सय ३१ बालबालिका खोप लगाउने चरणमा नै रहेको महानगर जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए ।

उनकानुसार घरधुरी सर्वेक्षणका क्रममा छ जना बालबालिकाले कुनै पनि खोप नलगाएको र दुई सय २९ बालबालिकाले आंशिक खोप लगाएको पाइएको थियो । ती बालबालिकालाई आवश्यक खोपको मात्रा पूरा गराएर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको हो ।

समन्वय प्रमुख अधिकारीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्णखोप दिगोपना सुनिश्चितता पालिका घोषणा गरेका हुन् । उनले सबैको प्रयासले महानगरलाई पूर्णखोप दिगोपन सुनिश्चित पालिका घोषणा गर्न सफल भएको बताए। “पूर्णखोपयुक्त पालिका घोषणा गर्न सबैको उत्तिकै जिम्मेवारी रहेको छ । घोषणापछि पुनः यसलाई कायम राख्नका लागि सबैको सक्रियता आवश्यक पर्ने भएकाले सोहीअनुसार भूमिका अपेक्षा गरेका छौँ”, उनले भने । 

महानगर प्रमुख रेनु दाहालले बालबालिकालाई पूर्णखोप दिएर स्वस्थ राख्ने पालिकाको जिम्मेवारी रहेको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नका लागि आफ्ना बालबालिकालाई खोप अनिवार्य लगाउन आग्रह गरिन् । दाहालले भनिन्, “महानगरले स्वास्थ्यका क्षेत्रमा एक वडा एक स्वास्थ्य कार्यालय अवधारणाअनुसार आवश्यक कार्य अघि बढाएको छ । आधारभूत स्वास्थ्य सेवा सबैको घरदैलोमा पु¥याउन मेयरसँग महिला जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”

महानगर उपप्रमुख चित्रसेन अधिकारीले बालबालिका स्वस्थ रहेमा भविष्य उज्ज्वल हुने बताए । उनले अभियानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेकामा जोड दिए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, जनस्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणि भण्डारी, भरतपुर महानगरपालिकाको सामाजिक महाशाखा निर्देशक शान्ताकुमारी पौडेल लगायतले धारणा राखेका थिए ।

महानगरपालिकालाई यसअघि विसं २०७४ मा पनि पूर्णखोप घोषणा गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्