सकियो पेरिस ओलम्पिक : नेपालको उपलब्धि शून्य, सात खेलाडीले ६ खेलमा कस्तो खेले?
काठमाडौं- पेरिस ओलम्पिक सकिएको छ। मेडल ट्यालीमा अमेरिका र चीनबीचको चर्को प्रतिस्पर्धा चलेकोमा यस संस्करणमा यी दुवैले समान ४० स्वर्ण पदक जिते।
अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ रजत पदक जित्दै शीर्ष स्थानमा रहँदा समान ४० स्वर्ण जितेको चीन २७ रजत र २४ कास्य पदक जितेर दोस्रो स्थानमा रह्यो। तालिकाको तेस्रो स्थानमा २० स्वर्ण सहित जापान र चौथो स्थानमा १८ स्वर्णसहित अस्ट्रेलिया रहे।
दक्षिण एसियाबाट भने सधैँझैँ कमजोर चुनौती रह्यो। यो क्षेत्रबाट एउटै स्वर्ण पाकिस्तानका अस्रत नदीमले जेभलिन थ्रोबाट ल्याए। अर्कोतर्फ भारतले १ रजत र ५ कास्यसहित ६ पदक ल्यायो।
पेरिस ओलम्पिकमा नेपालको चुनौती सहभागितामै सीमित भएको छ। नेपालबाट ६ खेलका लागि ७ खेलाडीले सहभागिता जनाएका थिए। नेपालका कुनै खेलाडीले पहिलो चरण नै पार गर्न सकेनन्।
कस्तो रह्यो नेपालको चुनौती?
ओलम्पिकमा नेपालको तर्फबाट टेबलटेनिसमा श्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गरे। त्यस्तै, पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले चुनौती प्रस्तुत गरे।
महिलामा सुटिङकी सुस्मिताले १० मिटर एयर राइफल, पौडीकी डुवाना लामाले २ सय मिटर फ्रिस्टायल, जुडोकी मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन (४२.१९५ किलोमिटर) मा नेपालको चुनौती प्रस्तुत गरेका छन्।
श्यान्टु श्रेष्ठ
जारी संस्करणको ओलम्पिकमा छनोट खेलेरै पुग्ने एकमात्र खेलाडी हुन् श्यान्टु। यद्यपि, ओलम्पिकमा उनको चुनती बलियो भने हुन सकेन।
साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउले श्यान्टुलाई ४–० को सोझो सेटमा पराजित गरे।
‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए। इब्राहिमलाई जित निकाल्न २४ मिनेट लागेको थियो।
पहिलो सेटको नतिजा ८ मिनेटमा आफ्नो पक्षमा पारेका इब्राहिमले दोश्रो र तेश्रो जित्न समान ५–५ मिनेट लगाएका थिए। चौथो सेट इब्राहिमले ६ मिनेटको अवधिमा जिते। पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि रहेको अवस्थालाई उल्ट्याउदै इब्राहिमले जित हात पारेका थिए। बाँकी सेटको नतिजा भने इब्राहिमले सहजै आफ्नो पक्षमा पारे।
खेलपछि श्यान्टुले सोचेभन्दा फरक भएको भन्दै प्रतिद्वन्द्वी आफूभन्दा धेरै माथिल्लो स्तरका खेलाडी भएको बताए।
‘प्रतिद्वन्द्वी राम्रो भएपनि ४-० को नतिजा मैले सोचेको नतिजा भने होइन। ओलम्पिकमा पहिलो सहभागिता भएकाले पनि नर्भस भएँ। दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुदलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ। तर ओलम्पिक सोचेभन्दा फरक हुँदो रहेछ,’ ओलम्पिकको नतिजाबारे २४ वर्षीय श्यान्टुले भने।
सुस्मिता नेपाल
नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक-२०२४ को महिला १० मिटर एयर राइफलमा ४२ औं स्थानमा रहिन्। कुल ४४ प्रतिस्पर्धीमध्ये सुस्मिताले ४२ औं स्थान हासिल गरेकी हुन्। शरणार्थी टोलीकी लुना सोलोमन ४३ औं भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन्।
पेरिसदेखि स्थल मार्गबाट करिब ३ घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको खेलमा सुस्मिताले कुल ६५४ अंकमा ६०७.८ अंक जोडिन्। सुस्मिताले पहिलो सिरिजमा १०४.५, दोश्रोमा १०१.७, तेश्रोमा १००.७, चौथोमा ९९.९, पाँचौंमा १०२.२ र छैटौंमा ९८.२ अंक जोडिन्। शीर्ष ८ मा रहने खेलाडी मात्र फाइनल पुग्ने प्रावधान रहेकाले सुस्मिताको चुनौती यहीँ समाप्त भयो।
यो स्पर्धामा सुस्मिताकै नाममा कुल ६५४ अंकमा ६१९.१ अंकको राष्ट्रिय कीर्तिमान छ। उक्त कीर्तिमान सुस्मिताले नेपालमै भएको चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदको खेलाडी छनोट प्रतियोगितामा बनाएकी थिइन्।
मनीता श्रेष्ठ प्रधान
नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक-२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा पहिलो खेलमै पराजित भइन्।
इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनीता इप्पोनका आधारमा पराजित भएकी हुन्। पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा सर्बियाकी मरिका पेरिसिकले मनीतालाई १०-० अंकले पन्छाइन्।
१० वर्षको उमेरदेखि जुडो करियर सुरु गरेकी २५ वर्षीया मनीताले १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेकी छन्।
मनीताअघि गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले सन् १९८८ को सिओल ओलम्पिक, देबु थापाले सन् २००८ को बेइजिङ ओलम्पिक, फुपु ल्हामु खत्रीले सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिक तथा सोनिया भट्टले सन् २०२० को टोकियो ओलम्पिकमा सहभागिता जनाएका थिए। पेरिस ओलम्पिकमा देबु मनीताको प्रशिक्षकको भूमिकामा छिन्।
ओलम्पिक इतिहासमै पहिलोपटक रंगशाला बाहिर भएको पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पास्टमा मनीताले श्यान्टुसंग मिलेर राष्ट्रिय झण्डा बोकेकी थिइन्। ओलम्पिकको जुडोमा नेपालले हासिल गरेको ठूलो उपलब्धि भनेको फुपुले पूरा ४ मिनेट समय ‘म्याट’ मा बिताउनु हो।
अलेक्जेन्डर साह
नेपाली पौडीवाज एलेक्जेन्डर शाहको यसपाला ओलम्पिकको उपलब्धि भनेको आफ्नै कीर्तिमान सुधार गर्ने रह्यो।
पेरिस ओलम्पिक-२०२४ को पुरुष १ सय मिटर फ्रिस्टायलमा उनले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन्। सन् २०२४ मै एलेक्जेन्डरले ५२.१७ सेकेन्डको कीर्तिमान कतारको दोहामा भएको विश्व एक्वेटिक च्याम्पियनसिपमा बनाएका थिए।
पेरिसमा एलेक्सले तेश्रो हिटमा प्रतिस्पर्धा गरेका थिए। हिटमा पहिलो लेनमा रहेका एलेक्जेन्डर सहभागी ८ प्रतिस्पर्धीमध्ये तेश्रो भए। समग्रमा भने एलेक्जेन्डर ५९ औं स्थानमा रहे। १० चरणको हिटमा जम्मा ७९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। हिटमा शीर्ष १६ स्थानमा रहने खेलाडीले सेमिफाइनलमा स्थान पक्का गरे।
प्रिन्स दाहाल
प्रिन्स दाहाल पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भए।
प्रिन्स पहिलो खेलमा विश्व नम्बर २ डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१-८ र २१-६ तथा दोश्रोमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१-७ र २१-५ को सोझो पराजित भएका थिए।
त्यस्तै, समूह चणको अन्तिम खेलमा ५८ औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानले प्रिन्सलाई २१-१२ र २१-१० को सोझो सेटमा पराजित गरे।
गृष्माकालीन ओलम्पिकमा प्रिन्स ३ खेल खेल्दै एकै संस्करणमा बढी खेल खेल्ने नेपाली खेलाडी बनेका छन्। सबैभन्दा बढी खेल खेल्ने नेपाली खेलाडीमा पूर्व धावक बैकुण्ठ मानन्धर हुन्। उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिकमा लगातार सहभागिता जनाएका थिए।
नेपालले ओलम्पिकको ब्याडमिन्टनमा पहिलो पटक सहभागिता जनाएको हो। सन् १९६४ को टोकियो ओलम्पिक (१८ औं संस्करण) देखि भाग लिन सुरु गरेको नेपालले पेरिस ओलम्पिक-२०२४ सम्म आइपुग्दा एक संस्करण बाहेक सबैमा निरन्तर सहभागी छ। १९ औं संस्करणमा नेपाल सहभागी भएन।
डुवाना लामा
नेपालकी डुवाना लामा पेरिस ओलम्पिक-२०२४ अन्तर्गत पौडीको महिला २ सय मिटर फ्रिस्टायलमा ३० औं स्थानमा रहिन्। सहभागी ३१ खेलाडीमध्ये डुवाना ३० औं भएकी हुन्। हंगेरीकी निकोलेट पडार ‘डिस्क्वालिफाइ’ भइन्।
पेरिसस्थित पेरिस ला डिफेन्स एरिनामा डुवानाले पहिलो हिटमा प्रतिस्पर्धा गरेकी थिइन्। हिटमा भने डुवाना ७ खेलाडीमध्ये सातौं भइन्। डुवानाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेन्डमा पूरा गरिन्। यो समय डुवानाको व्यक्तिगत उत्कृष्ट समयभन्दा पनि बढी हो। डुवानाको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ मिनेट १२.४६ सेकेन्ड छ।
यो स्पर्धामा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान सागको एकै संस्करणमा ४ स्वर्ण जितेकी तथा रियो दि जेनेरिया ओलम्पिक-२०१६ की सहभागीमध्ये सबै भन्दा कान्छी खेलाडी गौरिका सिंहको नाममा छ।
वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा स्थान सुरक्षित गरेकी डुवानाले थाइल्यान्डमा अध्ययनसँगै ओलम्पिकको तयारी पनि गरेकी थिइन्।
सन्तोषी श्रेष्ठ
सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक-२०२४ अन्तर्गत एथलेटिक्सको महिला म्याराथन पूरा गर्ने क्रममा आइतबार ७९ औं स्थानमा रहिन्। विभिन्न राष्ट्रका ९१ खेलाडी सहभागी म्याराथनमा ८० जनाले मात्र निर्धारित दूरी ४२.१९५ किलोमिटर पूरा गरे। ११ प्रतिस्पर्धीले दौड नै पूरा गर्न सकेनन्।
सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन्। सन्तोषीको व्यक्तिगत उत्कृष्ट टाइमिङ भने २ घण्टा ४६ मिनेट २३ सेकेन्ड हो, जुन महिला म्याराथनमा नेपालको कीर्तिमानी समय पनि हो। सन्तोषीले उक्त कीर्तिमान बंगलादेशको ढाकामा गत जनवरीमा भएको शेख मुजिब रहमान बंगबन्धु म्याराथन (दक्षिण एसियाली स्तरीय) मा बनाएकी थिइन्।
सन्तोषीपछि दौड पूरा गर्नेमा भुटानकी किन्जाङ ल्हामु रहिन्। किन्जाङलाई दौड पूरा गर्न ३ घण्टा ५२ मिनेट ५९ सेकेन्ड समय लाग्यो।