राजनीतिक मन्थनको अमृत पान गर्ने वैकल्पिक ‘राहु–केतु’का सन्दर्भमा
धेरैले सुनेको शव्द हो, राहु। ज्योतिषशास्त्र र ग्रहगोचरमा यसको वर्णन ब्यापक हुने गरेको पाइन्छ।
बेद, पुराण र खासगरी विष्णु पुराणमा राहु–केतुको चर्चा एक खण्डमा गरिन्छ, किनभने यसको महत्व अलग छ।
टिप्पणीकार यहाँ अमृतपान गरेको टाउको अर्थात् राहु–केतुलाई बिम्ब मान्दै नेपालमा वैकल्पिक नयाँ राजनीतिको चर्चा गर्नेछ।
पाठकवर्ग, नेपाली राजनीति सदाबहार चर्चाको केन्द्रमा रहने गरेको छ। किनभने २००७ सालदेखि नै यो स्थिर छैन। ०१७, ०३६, ०४६, ०५२, ०६३ हुँदै ०७९को निर्वाचनदेखि अहिलेसम्म पनि स्थिर नरहनुका अनेक कारण छन्।
यसबारे विविध पाटोबाट व्याख्या भइरहेका छन्। योभन्दा अलग नयाँ अनि वैकल्पिक राजनीतिमा देखिएको, देखाइएको दुराग्रह, दुशासन प्रवृत्तिको चर्चा गर्नेछु।
यसैकारण पनि टिप्पणीकारले शीर्षक नै ‘राजनीतिक मन्थनको अमृत पान गर्ने वैकल्पिक ‘राहु–केतु’का सन्दर्भमा’ भनी लेखेको छ।
मूल विषयभित्रको मन्थन गर्नुअघि राहुका सन्दर्भमा छोटो जानकारी राखौं।
समुद्र मन्थनका विषयमा धेरैथोरै सबैले सुनेको हुनुपर्छ। पुराणको यहि कथामा प्रकट हुन्छ– पात्र राहु–केतु।
समुद्र मन्थनका क्रममा धन्वन्तरी देवता वैद्य अमृतको घडालिएर प्रकट हुन्छन्। अमृत हातमा लिन देव र दानवबीच भयङ्कर युद्ध हुन्छ। दानबबाट अमृत जोगाउन गरुड अमृतको घडा लिएर युद्ध भुमिबाट उड्छ।
दानवहरूले अमृत हातमा लिँदा देवताहरु भगवान विष्णुकहाँ याचना गर्न जान्छन्। विष्णुले मोहिनी अवतार धारण गरेर असुरहरूलाई ध्यान खिच्छन् र अमृतको घडा लिएर देवताहरूलाई बाँड्छन्। असुर राहु केतुले देवताको रुप धारण गरेर अमृत पान गर्छन्।
सूर्य र चन्द्रले यो देखेर मोहिनी रुप धारण गरेका विष्णुलाई खबर गर्छन्। मोहिनीले राहु–केतुको घाँटीबाट अमृत जानुभन्दा अगाडि नै सुदर्शन चक्रले शिर छेदन गर्छन्। तर अमृत राहुको घाँटीसम्म पुगेको हुनाले उनीहरूको मृत्यु भने भएन। त्यो दिनदेखि टाउकोलाई राहु र शरीरलाइ केतु भन्न थालियो। पछि राहु र केतु ग्रहका रुपमा स्थापित गराइयो।
नेपाली नयाँ र वैकल्पिक राजनीतिमा यो सन्दर्भलाई जडित गर्न सरल हुन्छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निरन्तर आफूलाई नयाँ र वैकल्पिक भनी दाबी गरिरहेका छन्। सदनको एउटा समयमा एमालेका गोकुल बास्कोटाले त प्रश्न नै गरेका थिए,‘कहिलेसम्म नयाँ हुने हो?’
खैर, त्यतातिर नजाऔं। राजनीतिमा नयाँ चिज के थियो, नयाँ को भैदियो भन्ने मूल प्रश्न हो। अनि नयाँको हविगत के हुँदैछ भन्ने अर्को खरो प्रश्नका उत्तर टिप्पणीकार भन्दा पनि मुकुल ढकालले बेलामौका दिँदै आइरहेका छन्, भलै उनका तर्कमा गाम्भिर्यता नहोस् अथवा त्यसरी लिएको स्थिति नहोस्।
०७९ को स्थानीय तहको निर्वाचमा एक पटक घोत्लिऔं। नयाँ र विकल्पको खोजी अनि राहु–केतुको जन्मको कथा भेटिन्छ।
काठमाडौं महानगरपालिका, धनगडी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा बलियो मतसाथ बालेन शाह, गोपी हमाल र हर्क साम्पाङको उदय भएको थियो।
त्यस चुनावी नतिजाले अब परम्परागत पार्टीहरू (कांग्रेस, एमाले र माओवादसहित अन्य)भन्दा नयाँ शक्तिको उदय हुन्छ भन्ने संकेत दियो। त्यसबेला लामिछाने सहकारीको रकमबाट खडा भएको गोर्खा मिडिया नेटवर्कले सञ्चालनमा ल्याएको ग्यालेक्सी फोरके टेलिभिजनमा अहिले फरार रहेका जीबी राईको गुणगाण गाउन अभ्यस्त थिए।
राजनीतिमा मतदाता र नयाँ मतदाता अमृत निकाल्ने नतिजाका पक्षमा मन्थन गरेर बालेनहरूको जन्म गराइरहेको देखेपछि लामिछानेलाई पनि त्यो अमृत पान गर्ने रहर जाग्यो। अनि, ५ बर्षको सम्झौता तोडी एकै बर्षमा जीबी राईलाई धोका दिएर लामिछाने नजिकिएको प्रतिनिधि सभातिर केन्द्रित भए। एकातिर एउटा भिँड थियो, अर्कातिर राजनीतिमा जनमतीय मन्थनमा अमृत निस्कन सुरु भएको थियो। त्यो अवस्थितिलाई हेर्दा लामिछाने राहु–केतुका रुपमा छिरेका रहेछन् भन्ने यतिबेलाका उनका शासकीय शैली र विवादले प्रष्ट पार्दछ।
निर्वाचन सकिनासाथ उनको सरकारमा जाने हुटहुटी र हतारो, नागरिकता प्रकरणलाई ढाकछोप गर्नका लागि जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी परिसरको दुरुपयोग पहिलो चरणमा खुल्यो।
कुनै नियतका साथ टिप्पणीकार भनिरहेको छैन। आक्रोशित र दानवीय शैलीमा लामिछाने नेपाली सञ्चार माध्यम र तिनका सम्पादकलगायत व्यक्ति–व्यक्तिविरुद्ध भ्रम र आक्रोशको शिल्प गाड्न सफल भए। यो देखिएको तथ्य थियो।
यसपछि पनि उनका भुलभुलैयालाई जनताले अनुमोदन गरे उप निर्वाचनमा। फेरि आयो सहकारी प्रकरण। ग्यालेक्सी टेलिभिजनको लगानीकर्ता रहेको प्रमाणसहितका अन्य प्रकरणले लामिछाने कतिसम्मका छद्म थिए भन्ने उदाहरणका लागि राहु र केतुको बिम्ब नै सही हुन्छ। जसले छल गरेर अमृत पान गर्ने कुचेष्टा गरेका थिए।
लामिछानेलाई यहि प्रकरणले अहिलेसम्म नछाडेका कारण संसदीय छानबिन समिति नै बनिसकेको छ। सबै होइन, धेरैमा उनको संलग्नताको विषय सदनसम्म बहस र अवरोधको कारण बन्दा गृह मन्त्रालयमा ढलीमली गरी चेन अफ कमान्ड भत्काउन तल्लिन रहेको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन।
धेरै भन्नु नै पर्दैन, उनैले महामन्त्री बनाएका मुकुल ढकालले भए जति भनिसकेका छन्। यसर्थ, लोकतान्त्रिक गणतन्त्रमा फूलेका नयाँ फूलमाझ लामिछानेको उदय एक विवादीत विषयबस्तु किन बन्यो? यसको उत्तर आगामी पुस्ताले पनि खोजिरहनेछ। तर, नयाँ र विकल्पको मन्थनमा बालेनहरूका कर्मशील उर्जाको परिचर्चा भने नामेट हुनेछैन।