Nic Ad Nic Ad
Nic Ad Nic Ad

एउटा सचिवको पहुँचले बताउँछ नेपालका लागि भारत कति शक्तिशाली छ

सोमबार, साउन २८, २०८१

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले साउनको अन्तिम सोमबार सुरक्षाका साथ पशुपतिनाथको दर्शन गरेका छन्।

आम भक्तजनलाई साइड लगाउँदै पशुपतिनाथमा मिस्रीका लागि ठूलो सुरक्षा खटाइयो। 

भारतीयसहित नेपालका बर्दीवाला र सादा पोशाकका सुरक्षाकर्मी खटिएका थिए। उनको यति धेरै महत्व छिमेकी देशका पाहुनाको सुरक्षाका दृष्टिकोणले अस्वभाविक नमानिएला तर आश्चर्यजनक थियो। 

यति मात्र होइन, मिस्रीले शिष्टाचार भेटका नाममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटवार्ता गरेका छन्। 

सोमबार मात्र उनले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेट गरेका थिए। 

परराष्ट्र सचिव सेवा लम्साल प्रोटोकल तोडेर नै मिस्रीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।

एक उच्च तहका कुटनीतिज्ञ भन्छन्,‘के यी सबै हेर्दा भारतलाई कम आँक्न मिल्ने रहेछ त?’

ति कुटनीतिज्ञको टिप्पणीले केही प्रश्नहरूलाई पनि जन्माएको छ भने नेपालको राजनीतिमा भारतको महत्वलाई स्पष्ट रेखाङ्कन गरेको छ। 

समकक्षीको औपचारिक निम्तो मान्न आएका सचिवले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीदेखि अनेक नेता र पूर्वप्रधानमन्त्रीसम्मलाई भेट्छन्। अझ, व्यस्तताबीच नेपालका हाइप्रोफाइलले ति सचिवको व्यस्ततालाई हेरेर समय निकालिदिनुपर्छ। यसलाई सहज विश्लेषण गर्ने हो भने भेटिन्छ एउटै उत्तर– एउटा सचिवको पहुँचले बताउँछ नेपालका लागि भारत कति शक्तिशाली छ।

नाम नखुलाउने शर्तमा भारतबारे जानकार अर्का कुटनीतिज्ञ भन्छन्,‘हाम्रा परराष्ट्र सचिवले यो तहको सम्मान र रेस्पोन्स पाउँछ त?’

उनको प्रश्नअनुसार भारत भ्रमणको निम्तो पाएको खण्डमा सेवा लम्सालले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायतसँग शिष्टाचार भेट गर्ने समय पाउलिन् त?  
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्