Nic Ad Nic Ad
Nic Ad Nic Ad
जन्मजयन्ती

हलिउडको हिरो बन्ने चहाना राख्थे सुशील ‘दा’ तर नेपालको प्रधानमन्त्री बनेर संविधान दिए

सोमबार, साउन २८, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति समेत भइसकेका ३७औं प्रधानमन्त्री सुशील कोइरालाको सोमबार ८५औं जन्म जयन्ती मनाइँदैछ। 

उनी प्रधानमन्त्री रहेका बेला २०७२ सालमा नेपालमा संविधान जारी भएको थियो। कतिपय कांग्रेस नेताले उनलाई ‘फादर अफ कन्टिच्युसन’ समेत भन्छन्। 

संविधान दिँदा उनको निक्कै चर्चा भयो भने त्यसपछि भारतले लगाएको नाकाबन्दीको बिरोध नगर्दा उति नै आलोचना। यति मात्र होइन उनी केपी शर्मा ओलीविरुद्ध प्रधानमन्त्रीको उम्मेदवार भारतीय पक्षको चाहनाअनुसार बनेको भन्ने पनि आरोप लाग्यो। 

आठ बर्षअघि निधन भएका कोइरालाको नेपाली राजनीतिमा भने योगदान तारिफयोग्य रहेको छ। उनी तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको कार्यबाहक सभापतिका रुपमा लामो समयसम्म रहेका थिए। 

कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए। धेरैलाई जानकारी नहुन सक्छ झन्डै ६ दशक नेपाली राजनीतिमा बिताएका कोइराला युवा अवस्थामा हलिउड नायक बन्न चहान्थे। एक अन्तरवार्ताका सुशीलले भनेका थिए,‘राजनीतिमा नआएको भए म हिरो हुने थिएँ। हलिउडको नायक बन्ने रहर थियो।’

बोधप्रसाद र माता कुमुदिनीका जेठो छोरो सुशील कोइरालाको जन्म सन् १९३९ मा भएको थियो। उनका ६ भाइ र एक बहिनी थिए। वन अधिकृत बोधप्रसाद जागिरका शिलशिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए। त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो।

वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहेका सुशीललाई कांग्रेस जनले ‘सुशील दा’ भनी सम्बोधन गर्थे। 

२०१७ सालमा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए। प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए। 

उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताएका थिए। २०३६ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशील २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र०४६ सालको ऐतिहासिक जनआन्दोलन १ मा सक्रियरूपमा लागेका थिए।

गिरीजाप्रसाद कोइरालाको निधनपछि कमान्ड सम्हालेका सुशीलको योगदानको स्मरणमा जन्मजयन्ती मनाइने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्