Nic Ad Nic Ad
Nic Ad Nic Ad

आफ्नै सहयोगी समेतले बिरोध गरेपछि अन्ततः झुक्न बाध्य भए हर्क साम्पाङ, कारण यस्तो छ

सोमबार, साउन २८, २०८१

सुनसरी– स्थानीय निर्वाचनका बेला मेयरमा जिताउनका लागि अभियानमा सहभागी रहेका सहयोगी समेत बिरोधमा उभिएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ झुक्न बाध्य भएका छन्। 

खानेपानी महशुल बृद्धिको निर्णयबाट साम्पाङ पछि हटेका छन्। उनका सहयोगी रहेका आरसी साम्पाङले खानेपानी महशुल वृद्धिविरुद्धको धरानको आन्दोलनमा दलका प्रतिनिधिलाई साथ दिँदै भनेका थिए–हर्क साम्पाङ प्रमुख बन्न लायक रहेनछन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीको बलमा महशुल वृद्धिको आन्दोलनलाई दबाउनका लागि मेयर साम्पाङ अघि बढेका थिए। तर, उनको उक्त योजना विफल भयो। 

धरान खानेपानी बोर्डको अध्यक्षको हैसियतमा एकल निर्णय गर्दै शुल्क र महसुलमा ९ सय प्रतिशतभन्दा बढी दरमा वृद्धि गरेपछि मेयरविरुद्धको आन्दोलन चर्किएको थियो। सो क्रममा केही घाइते समेत भएका थिए। 

दलहरुसँगको छलफलमा सहमति गर्दै मेयर साम्पाङले शुल्क र महसुल वृद्धिको निर्णय फिर्ता लिएका छन्। आइतबार साँझ सर्वदलीय बैठकमा साम्पाङ पछाडि हट्न सहमत भए।  

एसीयाली विकास बैंकबाट लिएको ऋण दलहरूले तिरिदिए महशुल बृद्धि फिर्ता लिने अड्डी कसेका मेयर पहिलो पटक दलहरूका सामु झुक्नु परेको हो। अन्यथा, उनी एकल निर्णय गर्दैै हाबी हुँदै आएका थिए। 

नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलका अनुसार मेयर र दलहरूबीच भएको सहमतिमा खानेपानी महसुलको पुरानो दर यथावत राखेर पुर्नविचार गर्ने निर्णय भएको छ।

साउन १ देखि लागू हुने गरी मेयरले खानेपानीका सबैथरि शुल्क वृद्धि गर्ने निर्णय सार्वजनिक भएपछि १० राजनीतिक दलहरू आन्दोलनमा उत्रिएका थिए।

त्यसो त मेयर साम्पाङ यसअघि विभिन्न विवादमा नतानिएका होइनन्। श्रमदानका कारण चर्चामा रहे पनि वडाध्यक्षसँगको विवाद, कार्यपालिका बैठकमा एकल हावी, नगर सभामा पनि उस्तै व्यवाहार देखाउँदै आएका थिए। 

उपमेयर अइन्द्र बेघासँग पनि मेयर साम्पाङको विवाद परेको थियो भने पछिल्लो पटक सञ्चारकर्मीसँगको भद्रगोल व्यवाहार सतहमा आएको थियो।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्