Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीदेखि प्रचण्डसम्मलाई भेटेका भारतीय विदेश सचिव मिस्रीले छाडेको सन्देश

सोमबार, साउन २८, २०८१

काठमाडौं– छिमेकी मुलुक बंगलादेशमा राजनीतिक उथुलपुथुल भइरहेका बेला निक्कै महत्व राख्ने भारतीय विदेश मन्त्रालयका सचिव बिक्रम मिस्री नेपालमा राजनीतिक भेटघाटमा व्यस्त भए। 

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मलाई दुई दिनमा भेट गरी मिस्रीले चासो दिनुलाई महत्वका साथ हेर्नुपर्छ। 

छिमेक नीतिमा भारतले साउथ ब्लकबाट नेपाल नियाँल्ने गर्छ। जुन भारतीय विदेश मन्त्रालय अन्तर्गत पर्दछ। मिस्रीको भ्रमण नितान्त शिष्टाचार, आपसी छिमेकीको नियमित भने पनि राजनीतिक भेटघाट र उच्च तहका वार्ताले त्यस्तो सन्देश दिँदैन, सन्देहको ठाउँ छ। 

मिस्रीले आएको दिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र जाने दिन सत्ता गठबन्धनको ठूलो घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दलका नेता प्रचण्डसँग भेट गरेका थिए। 

नेपालको परराष्ट्र तथा भारतीय विदेश मन्त्रालयले यी भेटहरूमा के कुराकानी भए भन्नेबारेमा केही खुलाएको छैन। न नेपालस्थित भारतीय दूतावासले नै कुनै जानकारी दिएको छ। 

mishri-to-Prachanda-Deuba-1-1723452384.jpg
 

‘अहिले दक्षिण एसीयामा भइरहेका राजनीतिक उतारचढाव र देशै छाडेर प्रधानमन्त्री भागी भारतमा आश्रय लिएको बेलामा विदेश सचिवको नेपालमा राजनीतिक भेटका विविध सन्देश हुन सक्छन्’, कुटनीतिक मामिला जानकारहरू भन्छन्,‘यसबेला खुलेर भूराजनीतिक विषयको टिप्पणी भइरहेका छन्। अहिले राजनीतिक मामिलामा अमेरिका र भारत आमने सामने जस्तो देखिएको छ, त्यसको प्रभाव पनि छाडिएको हुन सक्छ।’

यहि मेसोमा मिस्री आएकै दिन प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र आफूलाई अमेरिकाले सत्ताच्युत गरिदिएको टिप्पणी गरेका थिए। मिस्री जाने दिन माओवादी बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यहि कुरा दोहोराउनुमा पनि कारण रहेको टिप्पणीकर्ता बताउँछन्। 

नेपालको सत्ता राजनीतिमा भारतले परोक्ष प्रभाव राख्दै आएका कारण अहिलेको गठबन्धनलाई भारतीय संस्थापनको सन्देश दिनका लागि मिस्रीको भ्रमण भएको अड्कल गरिएको छ। 

जे भए पनि मिस्रीले राजनीतिक रुपमा उच्च तहमा हतारको भेट गरी केही न केही सन्देश दिन खोजेको स्पष्ट हुन्छ।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्