Nic Ad Nic Ad
Nic Ad Nic Ad

धरानमा खानेपानीको मूल्य पुरानै कायम

सोमबार, साउन २८, २०८१

काठमाडौँ - धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ) ले अन्ततः खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता लिएका छन् ।

महसुल वृद्धिविरुद्ध आन्दोलनरत १० राजनीतिक दलको संयुक्त संघर्ष समिति र मेयर साम्पाङबीच ८ घण्टा लामो छलफल र वार्तापछि महसुल वृद्धिको निर्णय फिर्ता गरिएको हो ।


दुई पक्षीय वार्तापछि तीन बुँदे सहमति गर्दै खानेपानी महसुलको पुरानो दर यथावत राखेर पुनर्विचार गर्ने निधो भएको छ । सहमतिको बुँदामा भनिएको छ, ‘खानेपानी महसुल वृद्धिबारे खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाई उसको जवाफ नआउन्जेल पुरानो दर महसुल यथावत राखी पुनर्विचार गर्ने निर्णय गरियो ।’

दोस्रो बुँदामा खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिनुपर्ने दलहरूले माग गर्दै आएका थिए । सात सदस्यीय बोर्डमा चार सदस्यको समयावधि सकिएकोले रिक्त रहेको छ । बोर्डलाई पूर्णता दिने विषय विराटनगरस्थित उच्च अदालतमा विचाराधीन मुद्दाबारे आदेश प्राप्त भएपछि निर्णय गरिने भएको छ ।

अन्तिम बुँदामा खानेपानी बोर्डको हालसम्म सार्वजनिक नभएको आयव्यय ७ दिनभित्र सार्वजनिक गर्ने निर्णय गरिएको वार्तामा सहभागी नेपाली काँग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले बताए ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्