Nic Ad Nic Ad
Nic Ad Nic Ad

हात्ती दिवसमा सौराहाका हात्तीलाई वनभोज

मंगलबार, साउन २९, २०८१

भरतपुर (चितवन) – १३औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ।

आज चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीलाई वनभोज खुवाइएको हो। वनभोजमा हात्तीलाई मन पर्ने परिकार उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजाका परिकार बनाइएको थियो।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरेको हो। सरकारी र निजीस्तरमा पालेका ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षणसम्बन्धी बहस र छलफल गरी दिवस मनाइएको कार्यक्रम संयोजक शम्भुप्रसाद मालीले जानकारी दिए।

बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजीस्तरमा पालेका र निकुञ्जका हात्तीलाई एकै ठाउँमा राखेर वनभोजका रुपमा मिष्ठान्न भोजन गराइएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए। उनले हात्ती सफारीको विकल्प स्वरुप हात्तीसँग पैदलयात्र सुरु गरिएको भन्दै अझै केही समय हात्ती सफारीको विकल्प नरहेको बताए।

कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताए। उनले राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पत्तिका रूपमा ग्रहण गर्नुपर्ने धारणा राखे।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती र मानब बीचको द्वन्द्वका कारण संरक्षणमा चुनौति थपिएको भन्दै हात्तीको कारणले विपन्न समुदायको जीविकोपार्ननमा परेको सकारात्मक प्रभावलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिए ।

चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा सात वटा र सौराहामा निजीस्तरमा पालेका ४५ वटा हात्ती छन्। हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणमा जोड दिँदै अन्तर्राष्ट्रिय हात्ती दिवस मनाउँदै आइएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्