Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेसँगको गठबन्धन टिकिरहे ०८२ को कांग्रेस महाधिवेशन के हुन्छ?

मंगलबार, साउन २९, २०८१

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा नेता शेखर कोइरालालाई आश्वस्त पार्दै भने,‘महाधिवेशनको मिति सर्दैन, ढुक्क हुनुहोस्। समयमा नै हुन्छ।’

तर कोइराला अझै आश्वस्त हुन सकेका छैनन्। महाधिवेशनको क्यालेन्डर सर्न सक्ने सम्भावनाको शंका गरिरहेका कोइरालाले अहिलेको एमालेसँगको सत्ता गठबन्धन एउटा कारक देखेका छन्।

०८२ को मंसिरभित्र सक्नुपर्ने महाधिवेशनले नयाँ नेतृत्वको जन्म दिनेछ। विधान संशोधन गरी देउवा सभापतिका दाबेदार भएनन् भने विदा लिनुपर्ने स्थिति हुन्छ। यस्तो बेला देउवाले एमालेसँग गरेको चुनावी सरकारको प्रधानमन्त्री बन्ने बाटोमा कतिपय झन्झट देखिनेछन्, महाधिवेशनसँगै। 

०८३ सालमा मात्र आलोपालो सहमतिअनुसार देउवा प्रधानमन्त्री बन्न पाउनेछन्। त्यसबेलासम्म एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री पदमा बहाल हुनेछन्। 

कांग्रेसको नयाँ नेतृत्व आउनासाथ त्यसको प्रभाव संसदीय दलमा स्वभाविक रुपमा पर्न जानेछ। किनभने कांग्रेसमा संसदीय दलको चुनाव पुनः हुनुपर्ने माग पनि चलिरहेको छ। कांग्रेसको विधानअनुसार संसदीय दलको नेता मात्र प्रधानमन्त्री बन्न पाउनेछन्। 

‘महाधिवेशनका कारण एमालेसँगको आलोपालो सहमतिमा प्रभाव नपर्न पनि सक्ने बीचको लाइन छ, त्यसमा सहमति गरी समयमा महाधिवेशन हुन्छ’, एक नेता भन्छन्,‘संसदीय दलको नेताको निर्वाचन नगर्ने र सभापति देउवालाई नै प्रधानमन्त्री बनाउने महाधिवेशनको हलले नै निर्णय गर्ने बाटो छ।’

राजनीतिक अवस्था परिवर्तन हुँदा स्थितिमा फरक पर्न सक्ने कतिपयको तर्क छ। सभापति नै अन्यले जितेपछि स्वभाविक रुपमा संसदीय दलको नेता बन्ने महत्वकांक्षा जाग्छ। त्यसबेला यस्तो माग आउने सम्भावनाले कि महाधिवेशन कि त गठबन्धनमा प्रभाव त पर्ने स्पष्ट देखिन्छ। 

यस्तो स्थिति आउने समयमा देउवाले महाधिवेशनको मिति सार्न सक्ने सम्भावना ब्यापक छ। ‘संक्रमणकालिन कारण देखाएर महाधिवेशन एक बर्ष पछाडि धकेल्ने सम्भावनाको बाटो पनि खुला रहेका कारण एमालेसँगको गठबन्धनमा खटपट नभए देउवा त्यो बाटोमा जान नसक्ने भन्ने छैन’, कांग्रेसका एक जना केन्द्रीय सदस्य भन्छन्,‘अहिलेको गठबन्धन स्थायीत्व र चुनावका लागि भएका कारण त्यहाँसम्मको बाटो खुला छ। चुनावपछि महाधिवेशन गर्ने विकल्प पनि हेरिन सक्छ।’

तर १० दिनका लागि स्थगित भएको केन्द्रीय समितिले भने समयमा नै महाधिवेशन हुने निधो गरेको छ। यो विषय भदौ ७ गतेदेखि फेरि हुने बैठकमा पूर्वपदाधिकारी र पदाधिकारीले उठाउने सम्भावना रहेको एक नेता बताउँछन्।
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्