Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी

मुकुल ढकाललाई कसले ढाडस दिइरहेको छ– तस्बिर बोल्छ!

मंगलबार, साउन २९, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कारबाही भएपछि निवर्तमान महामन्त्री मुकुल ढकाल बिचलित जस्तो देखिएका छन्। उनका गतिविधि, अन्तरवार्ता, पत्रकार सम्मेलनले त्यो देखाउँथ्यो भने सोमबार मात्र आएको एउटा तस्बिरले ढकालको भूमिकाबारे अनेक चर्चा हुन थालेका छन्।

रास्वपाको विधान तयार पार्नेदेखि पार्टी गठनमा आफ्नो दाबेदारी मात्र होइन, अहिले पनि उक्त दलको महामन्त्री पदमा बहाल रहेको भनी निर्वाचन आयोगलाई समेत पत्र लेखेका ढकालमा यो तहको बयानबाजीको हिम्मत कहाँबाट आयो भन्ने खोजीनीति भइरहेको थियो। 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले स्पष्ट पार्छ– एमालेले ढकाललाई ढाडस दिइरहेको छ।

रास्वपाबाट एक प्रकारको एकल विद्रोह जस्तो गरेका ढकालले पत्याउन नै कठिन हुने प्रकारको तर गम्भिर आरोपलाई सतहमा ल्याए, जसको चर्चा प्रतिनिधि सभामा एमालेका सांसद रघुजी पन्तले नै गरेका थिए। 

यति मात्र होइन, पन्तले त ढकालले अगाडि ल्याएका भनाईप्रति गम्भिर हुनुपर्ने भनी रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेलाई प्रतिउत्तर दिन बाध्य पारेका थिए। 

ढकालले प्रधानमन्त्री बन्नका लागि सभापति रवि लामिछानेले भारतसँग मिलाउन भनेको र आफूले त्यो मध्यस्तता नगरेको भन्ने मात्र तर्क गरेका थिएनन् डा. वाग्ले त भारतको अधिनस्त नेपाललाई भुटानीकरण गर्न पनि तयार भएको भन्नेसम्म बताएका थिए। 

त्यसपछि रास्वपाले नै गरेको नीति मन्थनमा वाग्लेले दिएको प्रवचनको भिडिओ सामुन्ने मात्र आएन, त्यसको ब्यापक चर्चा भयो। नेपाल पनि दक्षिण एसीयामा भारतका निम्ति ‘मोनोरो डक्ट्रिन’ रोडम्यापमा जानुपर्छ भन्ने वाग्लेको प्रवचनको अंश चर्चा र विवादको घेरामा परेको थियो, जसको जवाफ उनले सदनमा दिइसकेका छन्। 

यहाँसम्मको स्थितिको परिघटनाका पात्र ढकाललाई एमालेले प्रयोग गरेको संकेत रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बताएका थिए। उनले भनेका थिए,‘मुकुल ढकाल एभरेष्ट होटलमा एमालेका कुन नेतासँग बसेका थिए भन्ने हाम्रो जानकारीमा छ।’

mukul-1723529191.jpg
यदि त्यसो हो भने एमाले रास्वपाको खण्डिकरण किन चहान्छ? यो गम्भिर प्रश्न बन्छ भने यसका केही सांकेतिक चरित्र पनि छन्। 

एमालेका लागि रवि लामिछाने भन्दा पनि रास्वपा र त्यसले विस्तार गरिरहेको संगठन खतरा हुन सक्छ। यसैकारण पनि जनस्तरमा दौडिन थालेको रास्वपालाई सत्तामा लगेर संगठन विस्तारको क्रमभङ्ग गर्न एमाले अध्यक्ष समेत रहेका ओलीको एउटा प्रयोग सफल भयो।

रास्वपालाई सत्ताबाट ओराल्नुअघि एमालेका कतिपय नेताले त्यसका महामन्त्री मुकुल ढकाललाई परिचालन गरेको आरोप लागेको थियो। त्यसलाई समयसापेक्ष पुष्टि हुने आधारसहित ढकालले प्रधानमन्त्री समेत रहेका ओलीलाई भेटेर एउटा सुझाव पत्र बुझाएको तस्बिर सार्वजनिक भएको छ। उनले ओलीलाई बुझाएको सुझावपत्रको एउटा बुँदा लामिछानेलाई राजनीतिमा निषेध गर्ने प्रकृतिको छ। 

‘एक पटक नागरिकता त्यागी अर्को देशको लिएको र पछि फेरि देश फर्किएर पुनः नागरिकता लिएकोलाई राजनीतिमा बन्देज’ लगाउनुपर्छ भन्ने ढकालको सुझाव पत्रमा उल्लेख छ।

छोटो समयमा उदाएको रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा बयान लिने तयारी समेत भइसकेको छ। एमाले सांसद सूर्य थापा संयोजक रहेको संसदीय छानबिनले बोलाउने तयारी भइरहेको छ। 

एमाले किन लामिछाने र रास्वपालाई थप विवादमा तान्न चहान्छ?

सत्ताबाट निस्कनासाथ रास्वपाले बालेन शाहले उठाएको गिरीबन्धु जग्गा प्रकरणको विषयलाई सदनमा राखेको थियो। 

यसबाहेक उसले गत निर्वाचनमा समानुपातिक मतमा एमालेलाई थोरै धक्का दिएको महासचिव शंकर पोखरेलले नै पार्टीका कमिटीहरूमा बताएको चर्चा हुन्छ। यसकारण रास्वपाको जनमतलाई कमजोर पार्नुपर्ने एमाले अभियान नै रहेको छ। 

डिजिटल माध्यममा आक्रामक रुपमा पुराना पार्टी भनी एमालेलाई समेत मुछेर रास्वपाले गरेको प्रचार चिर्नका लागि एमालेले पनि साइबर सेनाको प्रयोग गरिरहेको छ। 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्