Nic Ad Nic Ad
Nic Ad Nic Ad
माओवादी स्थायी समिति

चुनौती दिने दर्जन नेताहरूलाई प्रचण्डले पार्टीबाट यसरी लखेटेका थिए, जनार्दनको के होला?

मंगलबार, साउन २९, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माको प्रस्ताव वा प्रतिवेदनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिधा प्रहार गरेको थियो। अहिले पनि जारी रहेको स्थायी समितिमा शर्माको प्रस्तावको पक्षमा कति छन् भन्ने खुलेको छैन तर प्रचण्डको विपक्षमा अन्य नेता नदेखिएको बताइन्छ। 

माओवादीले भन्ने गरेको जनयुद्धकालदेखि नै प्रचण्डको विपक्षमा बोल्नेको राजनीतिक पतन भइसकेको छ। किनभने प्रचण्ड आलोचना सुन्न त सुन्छन् तर गर्नेलाई भित्तामा नै पछार्ने नीतिलाई बदलेका छैनन्। यसैले उनलाई साथ दिने दर्जन बढी ‘क्रिम’ नेताहरू अहिले साथमा छैनन्। 

स्थायी समितिमा परिवारवादी, पार्टी विभाजनको हल्लाबाजीलगायतका अनेक आरोप लगाएका उपमहासचिव जनार्दनको के होला? त्यो हेर्न बाँकी छ। तथापी प्रचण्डले युद्धकालदेखि नै आफूलाई चुनौती दिनेलाई कसरी साइड लगाए भन्ने स्मरणीय छ। 

जो जसले प्रचण्डसँग वैचारिक संघर्ष गरे ती सबै पार्टीबाट पाखा लागिसकेका छन्। अर्कोतर्फ ३३ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका प्रचण्डलाई राजनीतिक र संगठनात्मक नेतृत्वको चुनौती दिने नेताहरु टिक्न सकेका छैनन्। 

सेक्टर काण्डपछि प्रचण्डलाई नेतृत्व सुम्पेका मोहन वैद्यमात्रै नभएर बाबुराम भट्टराई, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रविक्रम चन्द हुँदै गोपाल किराती, विश्वभक्त दुलाल आहुति, टोपबहादुर रायमाझी, हिसिला यमी, रविन्द्र श्रेष्ठ हुँदै मणि थापासम्म अहिले बाहिर रहेका छन्। आहुतिबाहेक अन्य नेताहरु जनयुद्धकालीन हुन्।

प्रचण्डलाई साथ छाडेकाहरु थापा, रायमाझीसहित केही नेता एमालेमा पुगेका थिए। रायमाझी अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा छन्। २०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले पछि एमाले र माओवादी विभाजन हुँदै थापा, रायमाझी सहितका नेताहरु एमालेमै रहे। 

किराँती र आहुतिले भने एमालेसँगको एकीकरणपछि फरक–फरक दल गठन गरे। आहुतिले वैज्ञानिक समाजवाद नामको दल खोले र किराँतीले नेकपा माओवादी केन्द्रको नामबाट राजनीतिलाई अघि बढाउने खोजेका थिए। 

रवीन्द्र श्रेष्ठ भने चुनवाङ बैठकपछि माओवादी छाडेका थिए। सो बैठकले राजतन्त्रविरुद्ध राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने कार्यनीति पारित गरेको थियो। श्रेष्ठ त्यसको विपक्षमा थिए।

यी सबैमा प्रचण्डसँग वैचारिक संघर्षका क्रममा आलोचना गर्ने नेता पर्छन्। यहाँसम्मकी प्रचण्डको नीतिको खिलाफमा राजतन्त्रसँग मिल्न नसक्ने वैचारिक मत राख्दा डा. बाबुराम भट्टराईलाई युद्धकालमा नै गोली हान्नेसम्मको तयारी भएको थियो।

यसबेला भने प्रचण्डको विरोधमा जनार्दन शर्मा उभिएका छन्। पार्टी कमजोर हुनुको कारण नेतृत्व नै रहेको भन्ने उनको आरोप छ। यहि आरोपबारे प्रचण्डले अब के जवाफ दिनेछन् भन्नेचाहिँ बाँकी छ।   
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्