Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी प्रकरण अनुसन्धान निरन्तरतामा गृह मन्त्रालय, सीआईबी सक्रिय 

संसदीय छानबिन समितिको प्रतिवेदन पनि अर्को आधार बनाइने
मंगलबार, साउन २९, २०८१

काठमाडौं– दबाउन खोजिएको सहकारी ठगी प्रकरणको अनुसन्धान निरन्तरता दिनका लागि गृह मन्त्रालय तातेको छ। गृहमन्त्री रमेश लेखकले देशभरका सहकारी ठगी प्रकरणमा प्रहरीले गरेका अनुसन्धानमा निरन्तरता दिनका लागि निर्देशन दिएका छन्।

सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय छानबिन समितिले तयार पार्ने प्रतिवेदनलाई अनुसन्धानको अर्को आधार बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सक्रिय हुने भएको छ। 

सीआईबीमा एआईजी श्यामलाल ज्ञवाली आएपछि यो प्रकरणको अनुसन्धानले निरन्तरता पाउन नसकेको सतहमा आएको थियो। ज्ञवालीलाई सरकारले प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरुवा गरी सीआईबीको जिम्मेवारी एआईजी दीपक थापालाई दिएको छ। 

थापाले मंगलबारदेखि सीआईबी कार्यालयमा उपस्थित भई काम सुरु गरिसकेका छन्। उच्च स्रोतका अनुसार सीआईबीले थालेका सुनकाण्डदेखि सहकारी ठगीसम्मका विषयमा मिहिन अध्ययन र अनुसन्धानले निरन्तरता पाउनेछ। यसमा गृह मन्त्रालयको विशेष चासो रहेको छ। 

यस प्रकरणमा चर्चामा रहेका सूर्यदर्शनसहित सहारा र सुप्रिम सहकारीमा जोडीएका जीबी राई फरार छन् भने गोर्खा मिडियामा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको संलग्नताको विषय पनि उठेको थियो। 

प्रतिनिधि सभाको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणको अनुसन्धान गर्नका लागि सरकारलाई थप दबाब दिएका छन्। उनले भने,‘सहकारी ठगीका विषयमा अनुसन्धान कायम हुनुपर्छ। प्रमाणहरू हामीले देखाएका थियौं।’
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्