Nic Ad Nic Ad
Nic Ad Nic Ad

मानव बेचबिखनको अभियोगमा ५४ वर्षीय न्यौपाने पक्राउ

मंगलबार, साउन २९, २०८१

काठमाडौँ- ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई  प्रहरीले पक्राउ गरेको छ । 

पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिए पश्चात् मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो । न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पुर्याएको पीडितको उजुरीमा उल्लेख छ । पीडितबाट रु. दुई लाख ५० हजार लिई विसं २०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्याइ मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौन शोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

अभियुक्त न्यौपाने उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्