अदालतले उल्ट्यायो ‘हिंसा गर्ने र श्रम शोषक सांसद’को रिट, काठमाडौं प्रहरीले गर्नेछ अनुसन्धान
काठमाडौं– नेपालीमा उखान छ– जो चोर उसैको ठूलो स्वर! यस्तो उखानलाई साबित गर्नका लागि न्यायालयमा पुगेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई उल्टो झड्का लागेको छ।
सांसद शर्माले प्रहरीलाई विपक्षी बनाई दायर गरेको रिटमा अदालतले प्रहरीको पक्षमा फैसला सुनाएपछि अब ‘हिंसा र श्रम शोषण गरेको’ अभियोगमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गर्ने भएको छ। अदालतको आदेशअनुसार त शर्मामाथि नै अनुसन्धान हुने परिसरले जनाएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले शर्माको दाबी नपुग्ने फैसला सुनाएको हो।
उनीविरुद्ध दुई महिनाअघि नै जिल्ला प्रहरी परिसर, काठमाडौंमा महानगरपालिकाले नै जाहेरी दर्ता गरेको थियो तर अनुसन्धानको बाटो खुलेको थिएन।
शर्माले बालुवाटारस्थित घरमा राखेकी १४ वर्षीया बालिकालाई घरेलु श्रमिकका रूपमा खटाएकी थिइन्। बालिकाले आफूमाथि हिंसा भएको तथ्य सार्वजनिक गरेपछि काठमाडौं महानगरपालिकाले गत १४ जेठमा उनको उद्धार गरी सामाजिक संस्थामा पठाएको थियो।
पढाइदिने भन्दै बालिकालाई घरमा राखेकोमा अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा उनको उद्धार भएको काठमाडौं महानगरपालिकाले जनाएको छ। शक्तिको आडमा सांसद शर्माले आफ्नो पक्षमा फैसला आउने सोचेर रिट दायर गरेकी थिइन्। तर, भइदियो उल्टो।
महानगरको उजुरीविरुद्ध शर्मा अदालत गइन्। यहाँसम्मकी महानगरपालिकाले बालिकालाई अपहरण गरेको भन्नेसम्मको दाबी उनको रिटमा थियो। अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएकोमा बुधबार अनुसन्धानका लागि बाटो खोलिदियो।
उद्धारपछि बालिकाका बाबुले छोरी आफूलाई बुझाउनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च अदालत गएका थिए। सर्वाेच्चले बालिकाको इच्छालाई नै केन्द्रमा लागि अभिभावकको समेत सहमतिमा उनलाई संस्थामै राख्न परमादेश दिएको थियो। सोहीअनुसार बालिका हाल एक संस्थामा बसेर पढ्दै आएकी छिन्।
काठमाडौं महानगरपालिकाले परिवारबाहिर आफन्त तथा अन्य व्यक्तिहरूको घरमा बसेका बालबालिकामाथि अध्ययन गर्दा बालश्रम शोषणका घटना पत्ता लागेको थियो।
महानगरपालिकाकी बाल कल्याण अधिकारी शान्ता पहाडीका अनुसार अरूको घरमा बसेर सामुदायिक बिद्यालयमा पढ्ने २५५ जना विद्यार्थीलाई फर्म भर्न लगाएर अध्ययन भएको थियो। जसमध्ये २९ जनाले आफूले गम्भीर प्रकृतिको हिंसा भोग्दै आएको बताएका थिए।
यसपछि महानगर त्यस्ता पीडितको उद्धारको काममा सक्रिय भएको थियो।