Nic Ad Nic Ad
Nic Ad Nic Ad
स्थायी समितिमा भूकम्प

जनार्दन–बर्षमान गठबन्धनपछि दोस्रो पटक कमजोर प्रचण्डको नयाँ तुरुप– माधव नेपालसँग पार्टी एकता

बुधबार, साउन ३०, २०८१

काठमाडौं– यस पटक भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा रोचक बहस मात्र भएन त्यसले नयाँ कोणको विकास गरेको छ। 
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक पार्टी कमिटीमा कमजोर साबित भएपछि माओवादी राजनीतिमा नयाँ मोड निम्त्याउने कोशिश भएको छ।

नेतृत्व हस्तान्तरणको बहस पेचिलो मात्र होइन प्रचण्डका लागि भारी साबित बन्ने स्थिति बन्यो। यस्तो बहस देखेर माओवादी सचिव गणेश साह पनि अचम्मित भए। 

महासचिवको दौडमा रहेका तर उपमहासचिवमा सीमित हुन पुगेका दुई बलिया नेता जनार्दन शर्मा प्रभाकर र बर्षमान पुन अनन्तको गठबन्धनले प्रचण्डलाई स्थायी समिति बैठकमा उत्तर दिन भारी परेको छ। 

‘प्रचण्डले भनेजस्तो बमबार्ड द हेडक्वार्टर भएको छ। उपमहासचिव जनार्दनजीले बम हान्नुभयो। अरुबेला प्रतिरक्षामा उत्रिने अर्का उपमहासचिव बर्षमान पुनः मौन बस्नुभयो’, उच्च स्रोतले भन्यो,‘प्रचण्डले समात्ने टेको पाउनु भएन।’

माओवादीभित्र प्रचण्ड योसहित दोस्रो पटक कमजोर साबित भएका छन्। यसअघि पनि पार्टी विभाजनपूर्व मोहन वैद्य किरण, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको गठजोड बनी नेतृत्व हस्तान्तरणको बहस चलेको थियो। जसलाई धोवीघाट बैठकका रुपमा व्याख्या गरिन्छ। 

अहिलेको पालो पार्टीभित्रको बहस थाम्न नसकेपछि प्रचण्डले नयाँ तुरुप फ्याँकेका छन्, नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकीकरण। बैठक चलिरहेको अवस्थामा प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर पार्टी एकीकरणको प्रस्ताव गरेका थिए। उक्त विषय अहिले स्थायी समितिमा चर्चामा छ। 

‘आफू बलियो हुनका लागि पहिला खुमलटारबाट पार्टी विभाजन हुन लाग्यो, जनार्दन त एमाले जान लाग्यो भनी हल्ला चलाइयो’, उपमहासचिव शर्माको प्रतिवेदनमा उल्लेख थियो। 

यसैगरी अहिले पार्टी एकताको हल्ला गरी नेतृत्व पुस्तान्तरणको विषयलाई ठेल्न खोजिएको टिप्पणी हुन थालेको छ। एक नेता भन्छन्,‘यसरी माओवादी लामो समयसम्म कसरी जान सक्ला?’

उच्च स्रोतहरूका अनुसार नेतृत्व हस्तान्तरणको विषयमा जनार्दन शर्मा र बर्षमान पुन एकमत छन्। उनीहरूको अलग र गोप्य वार्तासहितका योजना तय भइरहेका छन्।
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्