Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेटौँडा उपमहानगरको गेटअगाडि व्यवसायीको धर्ना

बुधबार, साउन ३०, २०८१

काठमाडौँ- हेटौँडा उपमहानगरपालिकाको राजश्व वृद्धिको निर्णयविरुद्ध मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले उपमहानगरको गेटमा धर्ना दिएका छन् । व्यवसायीले पहिलो चरणको आन्दोलनअन्तर्गत आज तेस्रो दिन बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघको भवन हेटौँडा-२ बाट र्‍यालीसहित उपमहानगरपालिकाको गेटसम्म पुगेका सयौँ व्यवसायीले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज गर्नुपर्ने माग राखेका छन् ।

अहिले आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई पलायन हुने गरी विज्ञापन करसहितका अन्य करको दायरा १५० प्रतिशतसम्म बढाएको भन्दै उक्त कर बढाउने निर्णय खारेज नगरेसम्म आफूहरू आन्दोलित हुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए ।

व्यवसायीको आन्दोलनलाई मकवानपुर उद्योग वाणिज्य संघ मातहतको १८ भन्दा बढी बस्तुगत संघहरुले ऐक्यबद्धता जनाएका छन् । व्यवसायीहरूले कर वृद्धिको निर्णय खारेज हुनुपर्ने भन्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई हिजै ज्ञापन पत्र बुझाएका थिए ।

हेटौँडा उपमहानगरपालिकाले व्यवसाय कर, घरभाडाको आधारदर, एकीकृत सम्पत्ति कर र विज्ञापन करमा १५० प्रतिशतसम्म वृद्धि गरेपछि हेटौँडाका व्यवसायी आन्दोलित भएका हुन् ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्