Nic Ad Nic Ad
Nic Ad Nic Ad
विश्लेषण 

यसकारण प्रचण्डसँगै अवसान हुनेछ माओवादी !

उत्तराधिकारी तयार हुन नदिँदा दीर्घकालिन जीवन समाप्त
बिहीबार, साउन ३१, २०८१

काठमाडौं– यदि तत्कालिन नेकपा विभाजनको स्थिति र अदालतले एमाले, माओवादीको पुनर्जीवन नगरेको भए पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविष्यसँगै कम्युनिस्ट पार्टीको भाष्य अलग हिसाबमा व्याख्या हुने थियो। 

प्रधानमन्त्री अथवा नेकपाको कार्यकारी अध्यक्ष बन्ने प्रचण्डको हुटहुटी र दुवैको नेतृत्वमा जब्बर भएर स्थापित हुने केपी शर्मा ओलीको अडानी दम्भका कारण एमालेलाई कुनै घाटा नभए पनि माओवादी अवसानको यात्रामा लम्किएको छ। 

सत्ताबाट प्रतिपक्षीको कुर्सीमा पुगेपछि माओवादीको स्थायी समितिमा भएको मन्थनको निचोड यहि निस्कियो। विहीबार माओवादी अध्यक्ष प्रचण्डले बैठकमा उठेका प्रश्न, विवाद र आफूमाथि लागेको आरोपबारे जवाफ दिनेछन्। तर उनको जवाफ कर्मकाण्डीमा नै सीमित हुने कतिपय कम्युनिस्ट राजनीतिका विश्लेषकले बताएका छन्। 

नेकपा विभाजनपछि नेपाली कांग्रेससहितको गठबन्धनमा ०७९ को निर्वाचनमा गएका कारण ३२ सिटको धिपधिपे स्थितिमा माओवादी अहिलेसम्म जीवित छ। तर, यसलाई प्रचण्डले जादुयी नम्बर भन्दै कांग्रेस या एमालेसँगको आलोपालोमा १८ महिना प्रधानमन्त्रीमा टिक्ने मौका पाए। अहिले कांग्रेस र एमाले नै मिलेका कारण माओवादी मात्र होइन, यसबाहेकका अन्य दलमा पनि संशय आएको छ। 

यसैकारण प्रतिनिधि सभाका हरेक जसो बैठकमा प्रचण्डले कांग्रेस र एमाले दुई दलीय अवस्थामा फर्किन लागेको भनी संशयसहितको रोष मात्र होइन आक्रोश पनि पोखिरहेका छन्। यसको अर्थ हो, आगामी निर्वाचनपछि माओवादीको अस्तित्व के होला भन्ने चिन्तन पनि मिश्रित छ। 

माओवादीका दुई उपमहासचिव जनार्दन शर्मा र बर्षमान पुनले नेतृत्व तेस्रो पुस्तामा जानुपर्ने विषयमा सहमति जनाएका छन्। तर प्रचण्ड त्यसो गर्न राजी हुने स्थिति छैन। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनको प्रारुपमा व्याख्या गरेका प्रचण्डले आन्तरिक प्रतिस्पर्धा गर्न नदिएर उत्तराधिकारी स्थापित हुने मौका नदिएका कारण माओवादीको हविगत नराम्रो रहेको विश्लेषक मुमाराम खनालले बताएका छन्। 

माओवादीमा लामो समय काम गरी २० बर्षअघि नै पार्टी छाडेका उनले भनेका छन्,‘माओवादीको भविष्यचाहिँ प्रचण्डले बन्न दिएनन्, निजी रुपमा उनी धनी भए, सेट भए। यसलाई त्यत्तिसम्म भन्न सकिन्छ।’

महासचिवका प्रतिस्पर्धी रहेका शर्मा र पुनलाई जिल्याएर कुनै बेला प्रचण्डसँग अलग भएका तर फेरि फर्किएका देव गुरुङलाई उक्त जिम्मेवारी दिनु पनि प्रचण्डको गलत निर्णय थियो। ‘प्रतिस्पर्धा गर्छौं भन्ने नेतालाई दिइएन। कोही एकले जित्दा उसको शक्ति र पार्टीमा उत्तराधिकारी बन्ने अवस्था हुने थियो’, खनालले भनेका छन्,‘तर प्रचण्डले त्यसो हुन दिएनन्। प्रचण्डको निस्क्रियता अथवा अवसानसँगै माओवादीको पनि अवसान हुन सक्ने देखिन्छ।’

यस्तो स्थितिको परिकल्पना गर्ने उदाहरणका पात्रका रुपमा मोहनविक्रम सिंहको जीवनलाई हेर्दा काफी हुने पनि टिप्पणी गरिन्छ। कुनै बेला प्रचण्डका पनि नेता रहेका सिंहको एकल ढिपीका कारणले नै अहिले पत्नीलाई सांसद या मन्त्री बनाउनबाहेक अन्य भविष्य कायम नै नरहेको अवस्थालाई मुल्यांकन गर्न सकिने बताइन्छ। 

०६४ मा शान्ति प्रक्रियामा आउँदा सदनको सबैभन्दा ठूलो पार्टी रहेको माओवादीले राजनीतिक भविष्यलाई ननियाँल्दा प्रभाव कायम राख्न सक्ने नेताहरूले छाडेका थिए। असलमा यो छाडेको नभई प्रचण्डको एकल मतमा आउन नमानेका प्रतिस्पर्धी र नयाँ विचार ल्याउने अथवा प्रचण्डको बिरोधमा उभिने नेतालाई पाखा लगाइएको हिसाबमा बुझ्न सकिने खनालले बताइसकेका छन्। 

स्थायी समितिको बैठक उद्घाटन या अन्य केही माओवादीका फोरममा प्रचण्डले भनेका थिए,‘अब हामी एक्लै चुनावमा जानुपर्छ, माओवादी जति एक जुट हुनुपर्छ।’ तर त्यो सम्भावना कति बलियो छ भन्ने विषयको आँकलन प्रचण्ड स्वयम्ले नगरेका कारण अहिले शक्ति आर्जनका निम्ति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पार्टी एकीकरणको प्रस्ताव गरिरहेका छन्। 

यसले प्रचण्ड आफैं पनि आगामी निर्वाचनमा अहिलेको माओवादी एकल रुपमा जाँदा बर्चश्व कायम राख्नका लागि या अहिलेको स्थितिलाई नै कायम राख्न सक्ने अवस्था नहुने स्पष्ट चित्र छ। 

शर्मा र पुन माओवादीका ति नेता हुन् जसले अहिलेसम्म जनयुद्ध वा त्यसपछिको अवस्थामा पार्टीको अस्थित्वलाई रुकुम र रोल्पामा प्रभाव राखिरहेका छन्। त्यसैले सँधैभरी निर्वाचनमा विजयी हुन्छन्। तर, तिनलाई नै पाखा लगाएर उत्तराधिकारीको परिकल्पनामा ब्रेक लगाउने प्रचण्डले माओवादी जोगाउन सक्नेमा शंका पैदा भएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्