Nic Ad Nic Ad
Nic Ad Nic Ad

एआईजी श्याम ज्ञवालीको यस्तो रायमा छाडिएका थिए सहकारी सञ्चालक, अब अनुसन्धान हुन्छ

बिहीबार, साउन ३१, २०८१

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेपछि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्याम ज्ञवालीले जीबी राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति, कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीसहित जोडिएको सहकारी ठगी प्रकरणका तीन अभियुक्तलाई रिहा गरेका थिए।

माओवादीका नेता शक्ति बस्नेतसमेत जोडिएको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक नविन अछामीलाई पीडितको रकम फिर्ता गरेका कारण कारबाही गर्नु नपर्ने राय ज्ञवालीका निर्देशनका आधारमा सरकारी वकिलको कार्यालयमा पुगेको थियो। अनि, रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएको बखत यस सहकारीका सञ्चालकमाथि कारबाही गर्नु नपर्ने सरकारी वकिलको कार्यालयले निर्णय गरिदियो। 

तत्कालिन सीआईबी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यले पक्राउ गरी अनुसन्धानमा सञ्चालकलाई तानेकी थिइन्। उक्त सहकारीका अध्यक्ष तथा सञ्चालक गितेन्द्रबाबु (जीबी) राई पनि थिए। 

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारी ठगीसम्ममा हाम्रो नयाँ कृषि सहकारीको कनेक्शन राईद्वारा नै जोडिन्छ।

प्रहरीका विभिन्न युनिटले सहकारी ठगीको विषयमा अनुसन्धान जारी राखेका बेला सीआईबीले उक्त रायसहितको प्रतिवेदन पेश गरेको बारेमा उपल्लो निकायमा जानकारी नगराएको भन्ने आरोप समेत लागेको छ। सो आरोपसहित विभिन्न आरोपमा ज्ञवालीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ। एआईजी टेकप्रसाद राईको नेतृत्वको समितिले अहिले विविध विषयमा छानबिन गर्दा सहकारी पनि एउटा रहेको उच्च स्रोतले जानकारी दिएको छ। 

यसैबीच, सीआईबी प्रमुख परिवर्तन भएसँगै अहिले त्यहाँ रहेका सहकारी ठगीलगायतका विषयमा अनुसन्धानले निरन्तरता पाउने बताइएको छ। सीआईबी उच्च स्रोतका अनुसार ‘अब सहकारीसहितका सुनलगायतका विषयमा पनि छानबिन हुनेछन्, भएका रिपोर्ट र जारी रहेका अनुसन्धानले निरन्तरता’ पाउनेछ। 

यता प्रहरीले सहकारी ठगीका मुख्य अभियुक्त फरार रहेका जीबी राईलाई झिकाउनका लागि पनि अग्रसरता अगाडि बढाएको छ। उनीविरुद्ध रेड नोटिस जारी भएको थियो। उनको लोकेशनका बारेमा खबर सार्वजनिक गरिएका कारण प्रहरीले नयाँ ढङ्गले खोजी थालेको बताइएको छ।   
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्