लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गर्यो: कुलमान घिसिङ
काठमाडौ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरूले विरोध गरेको जिकिर गरे ।
प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरणमा उनले यस्तो बताएका हुन् ।
उनले लोडसेडिङ् हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् । केही जिम्मेवार पदाधिकारीलगायतले जिम्मेवार ठाँउमा पुगेर प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गर्ने गरेको उनको भनाइ छ ।
‘महालेखा परीक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ ?’, उनको प्रश्न थियो ।
प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको घिसिङको धारणा छ । ८ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु ठूलो सुखद विषय भएको पनि उनले बताए ।