Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशमा अस्थिरता मच्चाएर लाभ लिन खोजेपछि काँग्रेस-एमाले मिल्यौँ : शंकर पोखरेल

बिहीबार, साउन ३१, २०८१

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा देखिएको राजनीतिक अस्थिरतालाई स्थिरतामा ल्याउन राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले वाग्मती प्रदेश समन्वय संयन्त्रको पहिलो बैठकलाई बिहीबार पार्टीको बागमती प्रदेश कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरता बिना देशमा विकास र समृद्धि सम्भव नभएको बताए । 


देशमा राजनीतिक अस्थिरता मच्चाएर लाभ लिन चाहने शक्तिहरूले टाउको उठाउन खोजेका कारण दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएका उनले बताए ।

अहिलेको सत्ता समीकरण स्थायित्व, स्थिरता र विकासको लागि भएको उनले बताए । पोखरेलले पार्टीको अबको ध्यान बलिया राजनीतिक शक्ति निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । यसको लागि पार्टीको वैचारिक र सांगठनिक कामलाई अघि बढाउनु पर्ने उनले बताए ।

पोखरेलले विकास निर्माणको काम र संगठन निर्माणको कामलाई जोडेर अगाडि बढाउनु पर्ने बताए । राजनीतिमा नजोडिएको विकास निर्माणको कामले मात्रै संगठन सुदृढ नहुने उनले प्रष्ट पारे ।

पार्टीमा युवाहरूलाई संगठित र आकर्षित गराउन नसके जीवन्त पार्टी नबन्ने पनि उनले बताए । युवालाई पार्टीमा जोड्न आकर्षक कार्यक्रम र योजना सहित जानु पर्ने उनको धारणा छ ।

पोखरेलले नेकपा एमालेका सबै जनसंगठनलाई चलायमान बनाउन पनि निर्देशन दिए । जसनंगठनहरु पार्टीका जग भएकाले तिनीहरूलाई चलायमान गराउनुपर्ने उनले बताए ।

सहरिया मध्यम वर्गमा अस्थिरता र विचलन आएकोले त्यसलाई स्थिर बनाउनको लागि पार्टी संगठन लाग्नु पर्ने उनले बताए । मध्यमवर्गमा एक खालको निराशा बढेको भन्दै उनले त्यसलाई आशामा परिणत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी इञ्चार्ज एवं पार्टी स्थायी कमिटी सदस्य डा। राजन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी वाग्मती प्रदेश स्थिति जिल्ला कमिटी इञ्चार्ज, प्रदेश कमिटीका पदाधिकारी लगायतको सहभागिता रहेको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार प्रसार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिए ।

बैठकमा सहभागिता सदस्यहरूले पार्टीभित्र रहेको समस्या र समाधानका उपायका बारेमा आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्