Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बेइजिङ प्लस ३०’ को राष्ट्रिय महिला सम्मेलन आज

शुक्रबार, साउन ३२, २०८१

काठमाण्डौ – ‘बेइजिङ प्लस ३०’ को विश्वव्यापी समीक्षा भइरहेको बेला नेपालका तर्फबाट समीक्षा प्रतिवेदन तयार गर्ने उद्देश्यले आज ललितपुरमा राष्ट्रिय सम्मेलन हुँदैछ । महिलाको नेतृत्वमा सञ्चालित गैरसरकारी संस्थाको राष्ट्रिय महिला सञ्जाल संस्था बियोन्ड बेइजिङ कमिटी (बिबिसी) नेपालले सम्मेलन गर्न लागेको हो ।

सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको संयुक्त राष्ट्रसङ्घीय चौथो विश्व महिला सम्मेलनले महिलाको मानव अधिकार, महिला र बालिकाको सशक्तिकरणसँग सम्बन्धित बेइजिङ घोषणा र कार्यमञ्चले १२ वटा सरोकारका सवालहरू पारित गरेको थियो ।

जसमा महिला र गरिबी, महिला शिक्षा र तालिम, महिला र स्वास्थ्य, महिला विरुद्ध हिंसा, महिला र सशस्त्र संघर्ष, महिला र अर्थतन्त्र, शक्ति र निर्णयमा महिला, महिला विकासको लागि संस्थागत संयन्त्रहरू, महिलाको मानव अधिकार, महिला र सञ्चार, महिला र वातावरण तथा बालिका रहेका छन् ।

यस वर्ष जलवायु परिवर्तन र महिला ज्येष्ठ नागरिक गरी थप दुई वटा विषय थपिएका छन् । आज हुने सम्मेलनमा थपिएका दुईसहित यी १४ वटा सवालमा छुट्टाछुट्टै सत्र सञ्चालन हुने बीबीसी नेपालकी अध्यक्ष कृष्णकुमारी वाइबाले जानकारी दिनुभयो ।

विगत पाँच वर्षमा नेपालमा सरकारी, गैरसरकारी र निजी क्षेत्रले महिलाका सवालमा गरेका कार्यक्रमहरूको समीक्षा गर्दै नागरिक समाजको समानान्तर प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसङ्घमा नागरिक समाजको तर्फबाट पेस गर्न ‘काठमाण्डौ घोषणापत्र’ जारी गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्मेलनमा आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम समुदाय, अपाङ्गता भएका व्यक्तिहरू, युवा, ज्येष्ठ नागरिक र सीमान्तकृत समुदाय, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, क्षेत्रका विज्ञहरू, पेशाकर्मीहरू, महिला मानवअधिकारकर्मी लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्