५५ बर्ष लागिन् मनिषा कोइराला, यस्तो छ उनको जीवन र संघर्षको कथा
काठमाडौं– जीवनमा धेरै आरोह र अवरोह खेपेकी तर नहारेकी नेपालकी छोरी बलिउड अभिनेत्री मनिषा कोइराला शुक्रबारबाट ५५ बर्ष लागेकी छन्।
पछिल्लो समय धेरै जसो समय नेपालमा बिताउने र नेपाली राजनीतिलाई नजिकबाट पनि नियाँलिरहेकी उनको जन्म १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौँमा भएको थियो।
उनी यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित भइसकेकी छन्।
नेपालको राजनीतिक बिरासत बोकेको परिवारमा जन्मिएकी मनिषाका बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन्। उनी विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुन्। उ
नले बसन्त कन्या महाविद्यालय भीकेएममा १० कक्षासम्म पढेर वाराणसी गईन् र उनको चाहना डाक्टर बन्नु थियो तर उनी मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गर्न थालिन्।
सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन्।
मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुन्।
उनले नेपाली चलचित्रमा पनि काम गरेकी छिन्। उनले १९९८ मा नेपाली फिल्म ‘फेरी भेटौँला’मा अभिनय गरेकी थिइन्। उनको पहिलो हिन्दी फिल्म सौदागर हो।
मनीषाको व्यावसायिक जीवनमा मात्रै उतारचढाव आएन। उनको व्यक्तिगत जीवन पनि त्यो ताका त्यति सुखद रहेन। उनले सन् २०१० मा विवाह गरिन्। तर दाम्पत्य जीवन लामो चलेन।
वैवाहिक जीवनमा उल्झन आएकै बेला उनको पाठेघरमा क्यान्सर भएको पत्ता लाग्यो।
काठमाडौंको एक निजी अस्पतालमा भएको पहिचानमा विश्वास नलागेर उनीहरूले मुम्बईमा देखाए। त्यो पनि पत्यार नभएपछि न्यू योर्क पुगेकी उनी लामो समय उतै उपचार गरेर बसिन्।
जीवन मरणको दोसाँधमा रहेको त्यो क्षण सम्झिँदा आमाछोरी दुवै भावुक बन्छन्। बीबीसी नेपाली न्यूजमा कुनै बेला आमा सुषमालाई भित्र हृदयमा कतै लागेको थियो रे – भगवान् छन् भने मेरी छोरीलाई केही हुँदैन। उनी अहिले भन्छिन् – आखिर निको पनि भयो। भन्ने प्रकाशित छ।
मनीषाको सुन्दरताको तारिफ गर्नेहरू कवि तथा गीतकार जावेद अख्तरले रचेको “एक लडकीको देखा तो ऐसा लगा के जैसे खिल्ता गुलाब जैसे शायर का ख्वाब...’’ सम्झन्छन् जसमा उनी आफैँले अभिनय गरेकी छन्।
मनीषाले कुनै विषयमा बोल्ने चर्चित माध्यम टेडटकमा क्यान्सरसँगको आफ्नो लडाइबारे सुनाउँदा एउटा चर्चित भनाइ उल्लेख गर्दै भनेकी थिइन्– भविष्यबारे जब हामी अन्य योजना गर्न व्यस्त हुन्छौँ त्यही बेला जे हुन्छ त्यो नै हाम्रो जीवन हो।
यही अनिश्चितताका कारण जीवनबारे केही तयारी गर्न नसकिने र त्यही कारण जीवन नाजुक हुँदाहुँदै पनि सुन्दर छ भन्ने उनको भनाइ थियो।
जब उनी किमोथेरापी गरिरहेकी थिइन् त्यतिबेला उनको कपाल, आँखीभौँ, आँखाका परेलाका रौँ सब झरेका थिए।
शरीरमा शक्ति थिएन, मुहारको कान्ति मृत्युको भयले छोपेको थियो।
उनलाई डाक्टरले एउटा पत्रमा हस्ताक्षर समेत गराएका थिए जसमा उनको मुटु, श्रवण शक्ति र नसामा स्थायी क्षति हुनसक्ने उल्लेख थियो।
उनलाई उपचारको त्यो क्षणमा जीवनको अन्तिम अवस्थामा छु भन्ने डर लागेको उनी बताउँछिन्।
तर उनले अस्पतालको शय्यामा बस्दा जीवनबारे धेरै बोध गरेको आमा सुषमा सुनाउँछिन्। स्वास्थ्य र परिवारको महत्त्व बुझ्न पाउने ठूलो अवसरको रूपमा लिन्छिन् उनी।
आमा सुषमाको भनाइमा परिवारका सबैको साथ रहे पनि त्यति बेलासम्म सम्बन्ध विच्छेद नभइसकेका उनका श्रीमान्ले भने मनीषाको ख्याल राख्नै छोडेका थिए। पछि उनीहरूले सम्बन्ध विच्छेद गरे।
सुषमाकै अनुसार त्यतिबेला मनीषा समाजले के भन्ला भनेर पनि चिन्तित थिइन्।