Nic Ad Nic Ad
Nic Ad Nic Ad

पछिल्लो तीन वर्षमा २ लाख महिला वैदेशिक रोजगारमा विदेशिए,अवैध रुपमा जाने महिला तथ्यांक बाहिर

शुक्रबार, साउन ३२, २०८१

काठमाडौं - पछिल्लो तीन वर्षमा २ लाख नेपाली महिलाहरु रोजगारीको खोजीमा विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार बर्सेनि करिब ६० हजार जना महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

विभागका अनुसार बितेको ३ वर्षमा २१ लाख ४२ हजार वैदेशिक रोजगारीमा जाँदा २ लाख महिलाहरु विदेशिएका छन् । यो सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको कुल संख्याको ९.३३ प्रतिशत हो । विभागले उपलब्ध गराएको यो तथ्यांक श्रम स्वीकृति लिएर जानेहरुको मात्रै हो ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ४९ हजार महिलाहरु वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष ०७९/०८० मा ७२ हजार जना महिलाहरु हजार विदेश गए । आर्थिक वर्ष ०८०/०८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेर ८० हजार पुग्यो ।

तथ्यांकअनुसार हरेक वर्ष वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या १० हजारले उकालो लागिरहेको छ । ‘रोजगारीका खोजीमा विदेश जानेक्रम अहिले एक तिहाइ संख्या पुरुषको नै छ’, विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी भन्छन्, ‘तर रोजगारी खोज्दै विदेश जाने महिलाहरुको संख्या पनि उत्तिकै बढिरहेको छ ।’

वैदेशिक रोजगारीमा जाने महिलाहरुको पहिलो रोजाइ खाडी मुलुक देखिन्छ । विभागका अनुसार सबैभन्दा धेरै यूएई, कुबेत, कतार, साउदी र मलेशिया जाने महिलाको संख्या धेरै छ । पछिल्लो तीन वर्षमा यूएईमा ७२ हजार, कुबेतमा २७ हजार, कतारमा २४ हजार, मलेशियामा ११ हजार जना महिला कामदारका रुपमा गएका छन् ।

विभाग प्रमुख सुवेदीका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा यूएईमा २१ हजार १३०, कतारमा ७ हजार १३८, कुबेतमा ५ हजार ३६५ र मलेशिया १ हजार ४६४ र साउदीमा ७२६ गए थिए ।

त्यस्तै, आर्थिक वर्षमा ०७९/०८० यूएईमा २४ हजार ९१, कुवेतमा ११ हजार ८१६, कतारमा ६ हजार ६९९, मलेसिया ७ हजार २९९ र साउदीमा ९ सय ३३ जना गएका छन् ।

आर्थिक वर्षमा ०८०/०८१ मा यूएई २७ हजार ४३४, कतारमा १० हजार ८१५, कुबेतमा १० हजार ७५, मलेसियामा २ हजार ४४२ र साउदीमा ८३६ जना महिला कामदारका रुपमा गएको विभागको तथ्यांक छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेबारे तथ्यांक राखे पनि अवैध रुपमा जाने महिलाको तथ्यांक सरकारसँग छैन । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुुुसार खाडी मुलुक कुबेत, साउदी, ओमन, बहराइन र इराकमा ठूलो संख्यामा महिलाहरु घरेलु कामदारमा लैजाने गरेका छन् । ‘सरकारले घरेलु कामदार प्रतिबन्ध लगाए पनि भिजिट भिसा र भारतको बाटो हुँदै खाडी देशहरुमा गइरहेका छन्’, ब्युरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्र भन्छन्, ‘तथ्यांक नभए पनि यसरी जानेको महिलाहरुको आँकडा ठूलो छ ।’

विभिन्न संघसंस्था तथा सरोकारवालाहरुका अनुसार खाडी राष्ट्रहरुमामात्रै झण्डै ६० हजार महिलाहरु घरेलु कामदारमा गएको अनुमान छ । श्रम विज्ञ रामेश्वर नेपालका अनुसार विभिन्न प्रलोभन देखाएर आज पनि महिलाहरुलाई अवैध रुपमा लैजानेक्रम रोकिएको छैन । भन्छन्, ‘महिलाहरुलाई अवैध रुपमा पठाउने तस्करीको जालो ठूलो भए पनि नियन्त्रण हुन सकेको छैन । सरकार पनि यो विषयमा गम्भीर छैन ।’

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्