Nic Ad Nic Ad
Nic Ad Nic Ad

थामे बाढी अपडेट : एक जना बेपत्ता, उद्धार कार्य जारी

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ - सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण उच्च जोखिममा परेका केही मानिसहरूको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरूको उद्धार गरेको हो ।

बाढीमा परी स्थानीय एक जना बेपत्ता भएका छन् । दिउँसोको घटना भएकाले अन्य मानवीय क्षति भने नभएको उनले जानकारी दिइन् । बाढीको कारण विद्यालय-१, क्लिनिक-१, घर-७ वटा र ५ वटा होटेल पुर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् ।


पानिको बहाव घट्दै गएता पनि कटानको कारण माथिल्लो तटीय क्षेत्रमा जोखिम रहेको र तल्लो तटीय क्षेत्रमा भने कटानको कारण हाल सम्म कुनै पानी क्षति नभएको उनको भनाइ छ । 

यसैबीच थामे गाउँमा आएको बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सोलुखुम्बुको जोरसल्ले देखि तल दुधकोशीको तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ ।’

त्यस्तै गृह मन्त्रालय विपद् महाशाखा प्रमुख भीष्मकुमार भुसालले सोलुखुम्बु थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठुलो क्षति पुर्‍याएको हुन सक्ने भन्दै तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गरेका छन् ।


 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्