Nic Ad Nic Ad
Nic Ad Nic Ad

उज्यालो पर्खिरहेको बागलुङको निसेलढोर

शनिबार, भदौ १, २०८१

बागलुङ– पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।

विद्युतको सुविधा नहुँदा स्थानीय दियालो र टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे । निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेंसी) क्षेत्र हो ।

पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायी रुपमा निसेलढोरमा बस्ने गर्छन् । बर्खाको समयमा यहाँ दुई सयभन्दा बढी परिवार बस्छन् ।

असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसी गाउँमा झर्ने गर्छन् । पछिल्लो समय स्थायी रुपमै निसेलढोरमै बस्नेको सङ्ख्या बढ्दै गएको हो । उनीहरुले उज्यालो खोजीरहेका छन् ।

ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक भए पनि विद्युतलगायतका सुविधा नपुग्दा ओझेलमा छ ।

पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कमै मात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रुपमा बस्नेको सङ्ख्या बढ्न थालेको निसीखोला गाउँपालिका–५ निसेलढोरकी सम्झना विकले बताए ।

अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरु सूचना सञ्चारबाट टाढा रहनुपरेको उनको भनाइ छ । यो ठाउँ कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ भएको तर बिजुलीको उज्यालोभन्दा टाढा रहनु परेको उनले बताए ।

स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न ढोरपाटन सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो बाल्न अप्ठ्यारो भएको बताए । बजारमा मट्टीतेल पाइन छोडेको उनको भनाइ छ ।

निसीखोला–५ का वडाध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत पु¥याउनका लागि अघिल्लो वर्षदेखि काम सुरु गरेको बताए ।

ढोरपाटन–९ भुजीस्थित भुजी लघु जलविद्युत् आयोजनाबाट निसेलढोरलाई जोड्न लागेको उनले बताए । गत वर्ष विद्युत केही स्थानमा खम्बा गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा आइरिङको काम सकिएको अध्यक्ष घर्तीमगरको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्