Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुख्यमन्त्री आचार्य बने एमाले लुम्बिनीमा संसदीय दलको नेता

शनिबार, भदौ १, २०८१

काठमाडौँ- नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् ।

साउन ७ गते संसदीय दलका नेताबाट लीला गिरीले राजीनामा दिएपछि आज पहिलो पटक एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको हो ।गिरीले यसअघि उपनेता रहेका चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

शनिबार बुटवलस्थित मुख्यमन्त्री निकासमा बसेको दलको बैठकले आचार्यलाई दलको नेता र उपनेतामा भोजप्रसाद श्रेष्ठलाई बनाउने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले नेपाल प्रेसलाई जानकारी दिए । त्यसैगरी प्रमुख सचेतकमा यसअघि पनि सोही पदमै रहेका तुलसीप्रसाद चौधरीले जिम्मेवारी पाएका छन् ।

शनिबारको बैठकमा एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल पनि सहभागी भएकी थिइन् । शनिबार बिहानसम्म एमाले केन्द्रको निर्णयअनुसार लीला गिरीलाई नै दलको नेता मानेर जाने तयारी रहेको तर गिरीले त्यो प्रस्ताव नमानेका कारण आचार्यलाई बनाइएको स्रोतले जनाएको छ । गिरीलाई सोही पदमा राख्नका लागि नेतृ पद्मा अर्यालले छलफल गरे पनि त्यसको कुनै टुंगो नलागेपछि आचार्यलाई दलको नेता बनाइएको हो ।

दलको नेता बनेपछि पत्रकारहरूसँग बोल्दै चेतनारायण आचार्यले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने जनाएका छन् ।

संसदीय दलको बैठकले मुख्यमन्त्रीले ४ गते विश्वासको मत लिने भएको त्यसको तयारीका बारेमा पनि छलफल गरेको सांसदहरुले बताएका छन् । ८७ सदस्यी प्रदेश सभामा एमालेबाट २९ सांसद रहेका छन् । शनिबारको बैठकमा यसअघि दलको नेता रहेका लीला गिरी भने उपस्थित थिएनन् । एमालेका २९ र काँग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्