Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई हिमताल फुटेर थामेमा विपत्ति आएको पुष्टि, जोखिम कायमै 

शनिबार, भदौ १, २०८१

सोलुखुम्बु - सोलुखुम्बुमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ।  राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले हेलिकोप्टरबाट अध्ययन अवलोकन गरेर दुईवटा हिमताल फुट्दा थामेमा बाढीको विपत्ति आएको निष्कर्ष निकालेको हो।

टाँसिलाप्चा क्षेत्रमा रहेका पाँचवटा हिमताल र दर्जनौँ पोखरीहरूमध्ये दुईवटा हिमताल फुटेको र त्यसले अन्य स–साना पोखरी र हिउँ जमेको ठाउँ फुट्दा ठूलो बाढीको रूप लिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई जानकारी गराएका छन्। 

प्राविधिक टोलीले थप हिमतालहरू फुट्ने जोखिममा रहेकाले सतर्क रहन सूचित गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्। 

‘प्राविधिक टोलीसहित हामीले पनि अवलोकन गरेर आयौँ, केही तालहरू फुटेर बाढी सुरु भएको देखिन्छ,’ प्रजिअ पाण्डेले नयाँ पत्रिकासँग भनिन्, ‘प्राविधिक टोलीले दुईवटा हिमताल फुटेर हिजोको बाढी आएको र थप दुईवटा हिमताल जोखिममा रहेको र अन्य स–साना पोखरीहरूसमेत फुट्ने सम्भावना रहेको जानकारी दिएको छ।’ 

शुक्रबारको बाढीबाट प्रभावितलाई राहत, उद्धारका काम सुरु गरिएको र थप जोखिमलाई ख्याल गर्दै विशेष सतर्कता अपनाउन सूचित गरिएको प्रजिअ पाण्डेको भनाइ छ। 

राहत उद्धारको काम सुरु 
थामेका बाढी प्रभावितलाई राहत वितरण तथा उद्धारको काम सुरु भएको छ। नेपाली सेना र नेपाल प्रहरीले प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा सारेका छन्। 

थामेबाट करिब एक सय स्थानीयलाई उद्धार गरेर नेपाल आर्मीको क्याम्प, सामुदायिक भवन र गुम्बाहरूमा राखिएको छ। 

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नूतन श्रेष्ठले थामेबाट नयाँ पत्रिकालाई दिएको जानकारीअनुसार थामेका बाढी प्रभावितलाई खुम्बु पासाङल्हामु गाउँपालिकाको तर्फबाट ५० हजार र जिल्ला विपत् व्यवस्थापन समितिले १५ हजार नगद राहत हस्तान्तरण गरिएको छ।

हिमताल फुटेर थामेखोलामा आएको बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामेगाउँमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको थियो। १२ वटा घर बगाएको भए पनि अन्य आसपासका घरहरूमा समेत बाढी पसेको छ। 

थामेका होटेल लज, एउटा स्वास्थ्यचौकी र विद्यालयसमेत नष्ट भएका छन्। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ। सगरमाथा क्षेत्रको पर्यटकीय गाउँथामे बाढीले खण्डहर बनेको छ। 

मितेरी पुल बगाउँदा खुम्बु पासाङल्हामु गाउँपालिकासँग सीधा सम्पर्क टुटेको छ। थामेखोला आसपासमा पैदलयात्रा गर्ने बाटोसमेत छैन। सोलुखुम्बुको तल्लोतटीय क्षेत्रमा समेत बाढीले क्षति गरेको छ। ओखलढुंगा र खोटाङका दुधकोशी किनारका बस्तीमा समेत उच्च सतर्कता अपनाइएको छ।

थामे पुनर्निर्माणको जिम्मा सरकारले लिन्छः रक्षामन्त्री राई
रक्षामन्त्री मानवीर राईले बाढीले बगरमा परिणत भएको पर्यटकीय थामेगाउँको पुनर्निर्माणको काम सरकारले गर्ने बताएका छन्। 

मन्त्री राईले प्राविधिक र जिल्लाका सांसदहरूसहित शनिबार बिहान बाढी प्रभावित क्षेत्रमा पुगेको रक्षामन्त्री राईले विपतको कारण खण्डहर बनेको ठाउँलाई दीर्घकालीन हिसाबले सुरक्षित र सुन्दर बनाउने गरी सरकारले पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन्। 

मन्त्री राईले तत्काल थप अध्ययन गरेर थामेगाउँको पुनर्निर्माण र बाढी प्रभावितको पुनर्स्थापनाको ठोस योजना बनाउन प्रमुख जिल्ला देवी पाण्डेमार्फत जिल्लास्थित सरोकारवालालाई सुझाव दिएका छन्। 

‘विपत्ले यो सुन्दर पर्यटकीय गाउँलाई खण्डहर बनाएछ। तपाईंको जनप्रतिनिधि हुनुका नाताले तत्काल दुःखमा साथ दिन आएँ। अहिले केही राहत सामग्री आएको छ। अब तपाईंहरूको पुनर्स्थापना र गाउँको पुनर्निर्माणको काम सरकारले गर्छ ढुक्क हुनुस्,’ बाढी प्रभावितसँग मन्त्री राईले भने, ‘सिडियो साब, प्रदेश र राष्ट्रिय सभाका माननीयहरू पनि यहीँ हुनुहुन्छ। तपाईंहरूले तत्काल यो गाउँको पुनर्निर्माणको ठोस योजना ल्याउनुस् म केन्द्रबाटै पहल गर्छु।’ 

काठमाडौं फर्किएलगत्तै थामेको पुनर्निर्माणका लागि पहल गर्ने आश्वासन दिँदै मन्त्री राईले प्रधानमन्त्री केपी ओलीले समेत चासो लिएकाले मन्त्रिपरिषद्बाटै विशेष राहत तथा पुनर्स्थापनाको निर्णय गराउन आफूले सक्दो पहल गर्ने बताएका छन्।

रक्षामन्त्री राई प्राविधिक र राहतसहित सोलुखुम्बुको बाढी प्रभावित क्षेत्र थामेगाउँमा पुगेर फर्किएका छन्। सोलुखुम्बुबाट निर्वाचित मन्त्री राई नेपाली सेनाको हेलिकोप्टरमार्फत शनिबार बिहान प्रभावित क्षेत्रमा प्राविधिक, जिल्लास्थित सरोकारवाला र राहत सामग्री लिएर पुगेका थिए।

थामे पुग्नुअघि मन्त्री राईले हेलिकोप्टरबाटै माथिल्लो टाँसिलाप्चाभन्दा माथिल्लो क्षेत्रको अवलोकन गरेका छन्। दुईवटा हेलिकोप्टरबाट थामेको अवलोकन गरिएको थियो।  थामेका बाढी प्रभावितले आगामी दिनमा समेत जोखिम हुने भएकाले सुरक्षित स्थानमा बस्ती सार्न र तत्काल आफूहरूलाई पुनर्स्थापना गरिदिन माग गरेका छन्। 
 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्