बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त
काठमाडौँ- बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा दोलखाका शुकदेव काफ्ले नियुक्त भएका छन् ।
दोलखाको तामाकोशी गाउँपालिका-३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
२५ वर्षदेखि निरन्तर कानुन व्यवसायीको रूपमा काम गर्दै आएका काफ्लेले यसअघि पूर्वकानून तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाज कल्याणमन्त्री लीला कोइरालाको सल्लाहकारसमेत भएर काम गरिसकेका छन् ।
नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ १४:२४
प्रतिक्रिया दिनुहोस्