Nic Ad Nic Ad
Nic Ad Nic Ad
क्राइम वाच

नेपालका ठूला इन्काउन्टरः यसरी मारिएका थिए प्रलयकारी गुन्डा नाइकेहरू

आइतबार, भदौ २, २०८१

काठमाडौं– अपराधको आवरणबाट उम्किएकाहरू राजनीतिक लयमा बाँधिएका छन्। राजनीतिक छत्रछायाँमा रहेका तर अपराधको सीमापार गर्नेहरू इन्काउन्टरमा मारिएका छन्। 

नेपालमा यस्ता चर्चित गुन्डा नाइके थिए जसलाई राजनीतिक आवरणले टिकाउन वा बचाउन सकेन। समयपरस्थ अवस्थामा तिनको इन्काउन्टर भयो, केही दिन राजनीतिक हल्लीखल्ली भयो तर समाज शान्त हुन थाल्यो। 

अझै पनि गुन्डागर्दीको लहर सानो छैन तर पहिलाका जस्तो भयंकरचाहिँ हुन पाएको छैन। प्रहरीले प्रलयकारी गुन्डा नाइकेलाई इन्काउन्टरमा मारेपछि गुन्डागर्दी तितरबितर र छारस्ट रुपमा अनेक हिसाबमा जोगिने दाउमा लागे। 

‘चरी डन’ भनेर चिनिने दिनेश अधिकार इन्काउन्टर घटना सबैभन्दा चर्चा र विवादमा परेको प्रहरीको इन्काउन्टर हो। चरी उपनामले चिनिने धादिङका अधिकारी २३ साउन २०७१ मा प्रहरी मुठभेडमा मारिएका थिए। पुष्कर कार्की अपराध महाशाखाको प्रमुखका रुपमा रहेका बेला चरी इन्काउन्टरको घटना भएको थियो।

प्रहरीले चरीको इन्काउन्टर नभई ‘हत्या’ गरेको भन्दै सडकदेखि सदनसम्म हंगामा समेत भएको थियो। तर त्यो केही समयका लागि थियो। हाल नेकपा एसका उपाध्यक्ष रहेका राजेन्द्र पाण्डेले चरी इन्काउन्टर ब्यापक आलोचना गरेका थिए। 

मानवअधिकार आयोगमा उजुरी गरे। पछि त्यो विषय त्यतिकै सेलायो। ‘नसुध्रिने गुन्डाहरुको यस्तै हालत हुन्छ’ भन्ने सन्देश दिन त्यो इन्काउन्टर गरेको चर्चा प्रहरी अधिकारीहरु गर्दथे।

यसपछिको इन्काउन्टर थियो– कुमार श्रेष्ठ उर्फ कुमार घैंटेको।  

चरी इन्कान्टरको करिब २ वर्षअघि अर्थात् ३ भदौ २०७३ मा काठमाडौंका अर्का ‘डन’ कुमार घैंटे भनिने कुमार श्रेष्ठ प्रहरीको गोलीबाट मारिए। अपराध महाशाखाकै टोलीले कपुरधारास्थित उनको घरअगाडि गोली हानेको थियो। पक्राउ गर्न खोज्ने क्रममा घैंटेले गोली हानेपछि जवाफी फायरिङमा उनको मृत्यु भएको प्रहरीको भनाइ थियो। 

चरीको जस्तै घैंंटेको इन्काउन्टर पनि विवादरहित हुन सकेन। मारिनुभन्दा एक महिनाअघि आफू असुरक्षित रहेको भन्दै उनले मानव अधिकार आयोगमा उजुरी दिएका थिए। सोही कारण पनि उनको इन्काउन्टर विवादमा तानियो। सर्वेन्द्र खनाल अपराध महाशाखामा हुँदा उनी प्रहरी गोलीबाट मारिएका थिए।

गुन्डागर्दी र लागु औषध कारोबारीमा संलग्न प्रवीण खत्रीको इन्काउन्टर पनि सम्झनलायक घटना बन्यो। २३ साउनमा ०७४ ललितपुर, कुसुन्तीका उनी इन्काउन्टरमा परे। लागूऔषध कारोबारको आरोपमा उनलाई पक्राउ गर्न प्रहरी घरमा गएको थियो। दुवै हातमा पेस्तोल देखाउँदै उनी भाग्न खोजेका थिए। प्रहरीले चलाएको गोली लागेर उनी घटनास्थलमै मारिए। अपराध महाशाखाकै टोलीले उनीमाथि गोली हानेको थियो।

बालक निशान खड्का अपहरण र हत्या गर्ने गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर अर्को चर्चा भएको घटना हो। भक्तपुरको काँडाघारीबाट ११ वर्षका बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्ने दुई अपहरणकारी मारिए। सूर्यविनायकबाट पाइलट बाबा आश्रम जाने बाटोको जंगलमा नुवाकोटका गोपाल तामाङ र अजय तामाङ प्रहरी ‘इन्काउन्टर’मा परेका थिए। 

बच्चालाई अपहरण गरी क्रुरतापूर्वक हत्या गर्ने अपहरणकारी मारिएकोमा कतिपयले प्रहरीको प्रशंसा गरेका छन् भने केहीले प्रहरीमाथि मानव अधिकारको प्रश्न उठाएका छन्। बालकलाई सकुशल बचाउनुको साटो अपहरणकारी मारेर प्रमाणसमेत नष्ट गरेको आरोप प्रहरीमाथि लागेको थियो। ०७५ सालको यो इन्काउन्टर चर्चाको घटना थियो। 

अर्को चर्चित इन्काउन्टर हो, मनोज पुनसहितका सहयोगीको। गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका थिए। रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका थिए। 

सोम आले मनोज पुनका सहयोगी थिए। देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेटमा गोली हानाहान भएको थियो। 

घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो। 

कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए। उनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए।
साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको बताइँदै आएको थियो।

सप्तरीको रुपनी गाउँपालिकामा ३५ वर्षीय दीपेन्द्र चौधरी मारिएको घटना चर्चित बन्यो। प्रहरीलाई निशाना बनाएर श्रृङ्खलाबद्ध अपराध गर्दै आएका चौधरी रुपनी–राजविराज सडकखण्डको चेकपोइन्टमा प्रहरीको फेला परेका थिए।

त्यहाँ मोटरसाइकल रोक्न खोज्दा फायर खोलेपछि प्रहरीले जवाफ कारबाही गरेको थियो। त्यसक्रममा उनको घटनास्थलमै मृत्यु भएको  थियो। तत्कालि प्रदेश दुईका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालका पालामा उनको इन्काउन्टर भएको थियो।

बोधे बरसाइन सडकखण्डमा प्रहरी हवल्दार महेन्द्र सरदारमाथि गोली प्रहार भयो। प्रहरी अधिकारीमाथि नै गोली प्रहार भएपछि स्थानीय सुरक्षालाई लिएर चिन्तित थिए।

प्रगतिशील तराई मुक्ति मोर्चाका पशुपति चौधरी पक्राउ परे। उनी तिनै व्यक्ति हुन्, जसले हवल्दारमाथि गोली प्रहार भएलगत्तै सञ्चारमाध्यमहरुमा फोन गरेर जिम्मेवारी लिएका थिए।

प्रहरीमाथि गोली प्रहार गरेपछि घटनास्थल नजिकै रहेको एउटा चौरमा पशुपति र दीपेन्द्रको भेट भएको थियो। पक्राउ परिसकेपछि प्रहरीलाई बयान दिने क्रममा उनले भनेका थिए, ‘दीपेन्द्रकै योजनामा सबै घटना भएको हो। ऊ नै मोर्चाको संयोजक पनि हो।’

इन्काउन्टर प्रायः विवादमा आउने गरेका छन्। तर, समाजमा अपराधको जालो बलियो भएपछि सुरक्षा चुनौती थपिने हुँदा त्यस्ता व्यक्तिको उपचार नै इन्काउन्टर हुने प्रहरीका पूर्वआईजीहरू बताउने गर्छन्। एक पूर्वएआईजी भन्छन्,‘प्रहरीमाथि राजनीतिक संक्रमणका बेला सुरक्षाका अनेक चुनौती हुन्छन्। त्यस्ता बेला यस्ता अपराधीले टाउको उठाउने र अझ अप्ठेरो पार्ने हुँदा इन्काउन्टर हुने गरेका छन्। स्वभाविक जस्तो पनि लाग्छ।’
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्