Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस र एमालेबीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन : बेदुराम भुसाल

आइतबार, भदौ २, २०८१

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले नेपाली काँग्रेस र नेकपा एमालेकाबीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय संविधान संशोधनको विषय चर्चा भइराखेको र यसको पृष्ठभूमिमा काँग्रेस र एमालेका बीचमा संविधान संशोधन गर्नेसहितको समझदारी रहेको भनिएको उल्लेख गर्दै उनले दुई दलका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताए ।‘दुई दलका बीचको सहमतिलाइ र राष्ट्रिय सहमति भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । यो कदापि हुन सक्दैन्’ भुसालले दोहोर्‍याए, ‘दुई दलका बीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन।’

संविधान संशोधन के विषयमा गर्न खोजेको त्यो प्रष्ट नगरी संशोधनको बहस चलाउनुको पनि अर्थ नरहेको उनले बताए ।

‘संविधान संशोधन के उद्देश्यले गर्ने हो ? कस्तो संशोधन गर्ने हो ? के का निम्ति संशोधन गर्ने ? कि अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो ? कि समानुपातिक समावेशी सहभागितामूलक जुन लोकतान्त्रिक प्रणाली हामीले स्थापना गरेका छौँ यसलाई तोड्नका निम्ति हो ? भत्काउनका निम्ति हो ?’ उपाध्यक्ष भुसालको प्रश्न छ ।

दुई दलका बीचमा सहमति भयो भनेर संविधानका मूलभूत मर्ममाथि प्रहार गर्न नपाइने उनले बताए । यदि संविधानको मर्ममाथि प्रहार गर्न खोजिए त्यो आफूहरूलाई सैह्य नहुने उनको चेतावनी छ ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाइ नसक्दै संशोधन गर्ने विषय आफैँमा नमिल्दो रहेको उनले बताए । राष्ट्रिय सभाल नै संविधान कार्यान्वयनका लागि कति कानुन बनाउन आवश्यक रहेको भनेर अध्ययन गरेर सरकारलाई सुझाएको स्मरण गरे ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्