पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटे १११५ मा फोन गर्न आग्रह
काठमाडौँ- सरकारले समुदायमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटेमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य सूचना निकाल्दै समुदायको एउटै वडा वा टोल वा बस्तीमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटेमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको हो ।
वर्षयाममा झाडापखाला, हैजाका बिरामी बढेकाले महाशाखाले सेवा प्रदान गर्ने (निजी तथा सरकारी) स्वास्थ्य संस्थाहरूलाई यस्तो आग्रह गरेको हो । ललितपुरमा ४१, काठमाडौँमा चार, कैलालीमा आठ र प्युठानमा दुई जना गरी ५५ जनामा हैजा पुष्टि भएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ १७:२४
प्रतिक्रिया दिनुहोस्