Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख जना मानिस खडेरीको मारमा

आइतबार, भदौ २, २०८१

एजेन्सी - दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख जना मानिस खडेरीको मारमा परेका छन् । पानी निकै कम पार्ने र तापक्रम बढाउने मौसमी प्रणाली ुएल निनोु का कारण शुरू भएको खडेरीको प्रभाव ६ करोड ८० लाख जना मानिसमा परेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यो अङ्ग्रेजी वर्षको शुरूदेखिको खडेरीले बाली तथा पशुपालनमा असर पारेको छ । खडेरीकै कारण खाद्यान्नको अभाव भएको छ भने अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याएको छ ।

१६ वटा देश सदस्य रहेको दक्षिणी अफ्रिकी विकास समुदाय ९एसएडीसी० का राष्ट्र प्रमुखहरू जिम्बावेको राजधानी हरारेमा खाद्य सुरक्षासहित क्षेत्रीय मुद्दाहरूको बारेमा छलफल गर्न भेला भएका छन् । एसएडीसीका कार्यकारी सचिव एलियास मागोसीले यो क्षेत्रको १७ प्रतिशत जनसङ्ख्यालाई सहायताको आवश्यकता रहेको बताएका छन् । एल निनोको प्रभावले वर्षा निकै ढिलो शुरू भएको, कम वर्षा भएको, गर्मी बढेको र खाद्यान्न उत्पादनमा कमी आएको उनको भनाइ छ ।

अहिले दक्षिणी अफ्रिकामा वर्षौँपछिको सबैभन्दा खराब खडेरी परिरहेको छ । जिम्बाबे, जाम्बिया र मलावी लगायतका देशहरूले भोकमरीको सङ्कटलाई विपत्तिको अवस्था घोषणा गरिसकेका छन् भने लेसोथो र नामिबियाले मानवीय सहयोगका लागि आह्वान गरेका छन् ।

खडेरीको प्रभाव कम गर्न देशहरूले गएको मे महिनामा साढे पाँच अर्ब डलर सहायताको अपील गरेकोमा सहायता रकम आउन सकेको छैन । अन्तर्राष्ट्रिय सहयोग नआउँदा नागरिकलाई राहत दिन असमर्थ भएको एङ्गोलाका राष्ट्रपति जोआओ लोरेन्कोले बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्