Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामाजिक सुरक्षाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि श्रम मन्त्रालयद्वारा विभिन्न समिति गठन

सोमबार, भदौ ३, २०८१

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न समिति गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षाका क्षेत्रमा देखिएका विद्यमान समस्या र तिनको समाधानका लागि विभिन्न समिति गठन गरेको हो ।

श्रम मन्त्रालयकै पूर्वसचिव केवल भण्डारी, पूर्व सचिव प्रताप पाठक लगायतको संयोजकत्वमा समितिहरू गठन गरिएको हो ।सामाजिक सुरक्षा कोषको पुनर्संरचना, कोषबाट प्रदान गरिने सेवा सुविधा लगायतका विषयमा अध्ययन गर्न भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जानुपर्ने हुन्छ । श्रमिकलाई पहिलो एक महिनाको रकम श्रम स्वीकृति लिनुपूर्व नै तिर्नुपर्ने हुन्छ । त्यसपछि हरेक महिना वैदेशिक रोजगारीमा रहँदा तिर्नुपर्ने हुन्छ । लगातार तीन महिनासम्म योगदान गरेका श्रमिकले सामाजिक सुरक्षा कोषबाट पाइने सेवा सुविधा पाउने व्यवस्था छ । तर, श्रमिकलाई त्यसबारे जानकारी नहुँदा योगदान रकम नियमित तिर्ने गरेका छैनन् । त्यस्तै उनीहरूले पाउनुपर्ने सुविधा समेत पाउन नसकेको अवस्था छ ।

त्यस्तै एउटै श्रमिकले ४ ठाउँमा पैसा तिर्नुपर्ने हुन्छ । यी सबै विषयमा कसरी एकद्वार प्रणालीबाट काम गर्ने भनेर मन्त्रालयले विज्ञ समिति गठन गरेको हो । सामाजिक सुरक्षालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सुझाव माग गरिएको छ ।

त्यस्तै वैदेशिक रोजगार बोर्डको भूमिका र संरचनाका विषयमा आवश्यक सुझाव माग गर्दै अर्को समिति गठन गरिएको छ । जुन समिति पाठकको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिलाई बोर्डको पुर्नसंरचना तथा भूमिका विषयमा अध्ययन गरेर आवश्यक सुझाव दिन भनिएको छ ।

त्यस्तै श्रमिकको स्वास्थ्यका विषयमा समेत कसरी प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न अर्को समिति गठन गरिएको छ । श्रममन्त्री शरतसिंह भण्डारीले स्वास्थ्य संस्था तथा नेपालीहरूको स्वास्थ्यका विषयमा व्यापक चर्चा चल्ने गरेको बताउँदै त्यसबारे अध्ययन गर्न समिति गठन गरिएको बताए ।

उक्त समितिलाई श्रमिकको स्वास्थ्य परीक्षणदेखि लिएर बिरामी परेको खण्डमा नेपालबाटै कसरी टेलिमेडिसिनमार्फत सेवा दिन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न भनिएको हो ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्