Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक वर्षमा आयात भयो साढे ३ खर्ब रूपैयाँबराबरको पेट्रोलियम पदार्थ

सोमबार, भदौ ३, २०८१

काठमाडौँ- आर्थिक वर्ष ०८०/८१ मा कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयातमा पेट्रोलियम पदार्थले १८.८७ प्रतिशत हिस्सा ओगटेको छ ।

गत आर्थिक वर्ष ३ खर्ब ५४ करोड ४० लाख रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष ०७९/८० को तुलनामा आर्थिक वर्ष ०८०/८१ मा पेट्रोलियम पदार्थको आयातको रकम २.९ प्रतिशतले झरेको छ । आर्थिक वर्ष ०७९/८० मा ३ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो ।

फलाम तथा स्टिल र त्यसका उत्पादनहरूको आयात पनि ११.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ खर्ब ६७ अर्ब २९ करोड रुपैयाँको फलाम तथा स्टिल आयात हुँदा गत वर्ष १ खर्ब ४७ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात भएको थियो । कुल आयातमा फलाम तथा स्टिलको हिस्सा ९‌.२६ प्रतिशत छ ।

आयात मूल्यमा अघिल्लो वर्षको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थ २‍।९६ प्रतिशत, फलाम तथा स्टिल १.२० प्रतिशत, कच्चा सनफ्लावर तेल १‍.१७ प्रतिशत, आल्मुनियम तथा तिनका उत्पादन ४‍.७१ प्रतिशत, कच्चा भटमासको तेल ६२‍.२९ प्रतिशत, कच्चा पाम तेल ५९‍.१० प्रतिशत जिन्क २४‍.६६ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा मेसिनरी तथा पार्ट्सको आयात ८.८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब रुपैयाँको आयात हुँदा गत वर्ष १ खर्ब ९ अर्ब रुपैयाँको आयात भएको थियो । कच्चा भटमास तेलको आयातमा ६२.३ प्रतिशतले घटेर १३ अर्ब ४१ करोड रुपैयाँमा झरेको छ । औषधिको आयात ५.६ प्रतिशतले घटेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीको आयात ७.३ प्रतिशतले बढको छ । सुनको आयात भने ४०.९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्