अमेरिकाका राष्ट्रपति उम्मेदवारहरूमाथि साइबर आक्रमणको प्रयास भएको खुलासा
काठमाडौँ- आगामी नोभेम्बरमा हुने अमेरिकाका राष्ट्रपतिको निर्वाचनमा डेमोक्य्राट र रिपब्लिकन दुवै दलका उम्मेदवारहरूको निर्वाचन अभियानमा साइबर आक्रमणको प्रयास भइरहेको खुलासा भएको छ ।
डिरेक्टर अफ नेशनल इन्टेलिजेन्स (ओडीएनआई), संघीय अनुसन्धान ब्युरो (एफबीआई) र साइबर सुरक्षासम्बन्धी एजेन्सी (सीआईएसए)ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस पटकको आक्रमण प्रयासका लागि इरानलाई जिम्मेवार बताएका छन् ।डेमोक्र्याटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिशलाई औपचारिक रूपमा उम्मेदवार घोषणा गर्न सम्मेलन हुने पूर्वसन्ध्यामा उक्त विज्ञप्ति सार्वजनिक भएको थियो ।
इरानसँग सम्बन्धित विभिन्न व्यक्ति तथा संस्थाले ह्यारिस र ट्रम्पका निर्वाचन अभियानहरूमा साइबर आक्रमणको प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ । साथै, विभिन्न प्लाटफर्म प्रयोग गरेर अमेरिकी लोकतान्त्रिक संस्थाहरूमाथिको विश्वास घटाउने र एक आपसको विवादलाई भड्काउने काममा लागेको अमेरिकी सरकारको आरोप छ ।
अमेरिकी सरकारले केही समयअघि ट्रम्पको चुनावी अभियानमा भएको साइबर आक्रमणमा पनि इरानकै हात रहेको जनाएको छ । दुवै पार्टीको चुनावी अभियानसँग सम्बन्धित व्यक्तिहरूका इमेल एकाउन्टमा पहुँच बढाउन लगातार प्रयास भएको विज्ञप्तिमा प्रष्ट पारेको छ ।
गत साता पूर्वराष्ट्रपति ट्रम्पले पनि आफ्नो अभियानसँग सम्बन्धित अनलाइन पूर्वाधारहरू ह्याक भएको खुलासा गरेका थिए ।