Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘कर्णाली शहीद’को तस्बिर हरेक मन्त्रालयमा राखिने

मंगलबार, भदौ ४, २०८१

काठमाडौँ- कर्णाली प्रदेश स्थापना आन्दोलनका क्रममा ज्यान गुमाएका ४ जनाको तस्बिर प्रदेशका मन्त्रालय र मातहतका कार्यालयमा अनिवार्य रूपमा राखिने भएको छ । भदौ २ गते बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका गोपालसिंह रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए । मन्त्रिपरिषद्ले उनीहरूको परिवारका १-१ जनालाई रोजगार उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।प्रदेशले आफ्नो नवौँ स्थापना दिवसको अवसरमा उक्त निर्णय गरेको हो । प्रदेशले मंगलबार दिवस मनाइएको छ । प्रदेश राजधानीस्थित कभर्ड हल एक कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।

जसअनुसार बुधवार बिहान वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभात फेरि गरिएको थियो । त्यसपछि प्रदेश रंगशालास्थित कभर्ड हलमा औपचारिक कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, सबै मन्त्रीहरू, सांसद, शहीद परिवार, कर्मचारी विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विद्यार्थी लगायतको सहभागी थिए ।

स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समीक्षा गर्नुपर्ने बेला आएको बताए । ‘जनताको चाहना र शहीदको सपनालाई कति पूरा गरियो भनेर तीन तहका निर्वाचित जनप्रतिनिधिहरूले समीक्षा गर्नुपर्ने बेला आएको छ,’ उनले भने ।

त्यस्तै मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यानको आहुति दिएका शहीद परिवारलाई चालु आर्थिक वर्षदेखि रोजगारी दिने निर्णय गरिएको बताए । ‘कर्णालीमा रहेका संघीय सरकार र स्थानीय तहलाई पनि आग्रह गर्नेछौँ । प्रदेश मातहतका सबै कार्यालयहरूमा शहीदहरूका तस्बिर राख्ने निर्णय गरिएको छ । सबैले लागु गरौँ,’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्