नेभिगेशन
राजनीति

यस्तो छ उपप्रधानसहित रोजेको मन्त्रालय त्याग गरेका कांग्रेस महामन्त्री गगन थापाको मिशन

भावी सभापति र प्रधानमन्त्रीको मार्गमा

काठमाडौं– सभापति शेरबहादुर देउवाले बोलाएर कांग्रेस महामन्त्री गगन थापालाई एमालेसँगको संयुक्त सरकारमा उपप्रधानसहित रोजेको मन्त्रालय लिनका लागि प्रस्ताव गरे। 

तर, महामन्त्री थापाले अहिले सरकारमा नजाने उत्तर दिए।

सभापति देउवाले सोधे, ‘किन?’

थापाको जवाफ थियो,‘महाधिवेशनको तयारीका निम्ति। उनले यहि मेसोमा सभापति देउवालाई भने,‘महाधिवेशन कुनै बहानामा नधकेलियोस्।’
बरु प्रस्ताव राखे,‘प्रदीप पौडेललाई मन्त्री बनाइयोस्।’

सभापति देउवाले उत्तर दिए,‘धकेल्लिन्न, मिलेर महाधिवेशन सफल बनाउनुपर्छ। प्रदीप मन्त्री बन्नेछन्।’

थापा सरकारमा मन्त्रीको अवसर आउँदा पनि नजानुका दुई मुख्य मिशन छन्। 

पहिलो, १५औं महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने। अनि दोस्रोचाहिँ, प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेताको निर्वाचनमा पनि जीत निकाल्ने।

पछिल्ला दिनमा सभापति देउवाले महामन्त्री थापालाई महत्व दिने गरेका छन्। सरकारमा रहेका मन्त्रीहरुको कार्यप्रगति र कामको तरिकाको निर्देशन दिने समितिमा पनि थापालाई राखिएको छ। 

थापाले मन्त्रीहरूलाई भनेका छन्,‘काम राम्रो गर्नुपर्नेछ। कुरा गरेर होइन काम गरेर देखाउने र परिणाम आउनेगरी डेलिभर होस्।’

यत्तिको महत्व पाएका कारण नै थापा आगामी दिनमा कांग्रेसको नेतृत्वमा उदय गर्ने क्रममा छन्। एक कार्यकाल मात्र सभापति हुने लक्ष्य राखेका थापालाई भावी नेताका रुपमा देउवाको पनि समर्थन हुन सक्ने आँकलन गरिएको छ। 

‘थापामा नेतृत्व लिन सक्ने क्षमता, दक्षता सबै छ। यसकारण कांग्रेसको भविष्य राम्रो हुने संकेत पाएका छौं’, एक कांग्रेस नेता भन्छन्,‘कुनै पनि अन्य दलका नेतालाई काउन्टर दिने र पार्टीभित्र पनि बहस गर्न सक्ने क्षमता उहाँले देखाउनुहुन्छ।’

केन्द्रीय समिति होस् वा पदाधिकारी बैठक सबैमा थापाले वैचारिक, व्यवाहारिक र तत्कालिक कार्ययोजनासहित पार्टीको बाटोका विषयमा पनि खुलेर बसह छेड्ने गरेका छन्। 

आगामी ७ गतेदेखि फेरि निरन्तरता पाउने केन्द्रीय समितिको बैठकमा पार्टीमा उठेका प्रश्नको सम्बोधन र उत्तरका विषयमा तयारीको जिम्मेवारी पनि थापाले पाएका छन्। यस हिसाबले कांग्रेसको भावी नेतृत्वमा उदाउने मिशन थापाले तय गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति