Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई सातादेखि शिक्षक सम्पर्कविहीन

बुधबार, भदौ ५, २०८१

सुर्खेत- जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगन्जबाट सम्पर्कविहीन भएका छन्। शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन्।

उनी गत साउन १४ गते घरबाट नेपालगन्ज गएका थिए। साउन २५ गते नेपालगन्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटेलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै हिँडेका आफन्त गोपी सिंहले जानकारी दिए।‘साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाऊँ भनेर हामी १७ गते दैलेखी मीना होटेलमा पुगेका हौँ। जेठान दाइले जुम्लाबाट रु ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिँदा धेरै बसाइँ भयो। २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिरिएपछि उहाँ फर्कनुभएको छैन,’ सिंहले भने।

गत साउन २६ गतेसम्म आउनुहुन्छ कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि घरमा ससुरा बुबा हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताए। ससुरा नेपालगन्जमा आएर खोज्दा नभेटिएपछि आफै निवेदक भएर नेपालगन्ज जिल्ला प्रहरी कार्यालयमा खोजीदिनका लागि उजुरी हालेको उनले बताए।

यही भदौ २ गते नेपालगन्जबाट जाजरकोट फर्किसकेका सिंहले सम्पर्कविहीन शाहीको खोजीमा सहयोग गरिदिन सबेलाई आग्रह गरे। शिक्षक शाहीका बुबा हंसबहादुरले छोरा र ज्वाइँ गोपी सिंह सोही होटेलमा सँगै बसेको तर साउन २५ गते बाहिर गएर आउँछु भनेर निस्किएको छोरा नफर्केको खबर पाएपछि आफू त्यही पुगेको बताए।

उनले भने, ‘नेपालगन्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन। फोन पनि बन्द छ। खाना खाएको रु १६ हजार नौ सय पुगेपछि ज्वाइँ गोपी छोरा आउने आसमा त्यही बस्नुभएको रहेछ।’

होटेल धनीलाई पछि तिरौँला भन्ने भाका गरी घर फर्केको पीडित शाहीले दुखेसो पोखे। हराएको धेरै दिनसम्म सम्पर्कमा नआएपछि जतिसक्दो चाँडो खोजी दिन उनले प्रहरी प्रशासनलाई आग्रह गरे।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्