Nic Ad Nic Ad
Nic Ad Nic Ad

पार्टी फुटको हल्ला स्थायी समितिले खारेज गरिसक्यो, मिडिया ट्रायल नगरौँ : ‘प्रचण्ड’

बुधबार, भदौ ५, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरिसकेको भन्दै मिडिया ट्रायल नगर्न नेताहरूलाई सचेत गराएका छन् ।

आज बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरेको बताएका हुन् ।उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै पार्टी फुटको हल्ला चलेको थियो । शर्माले साउन अन्तिम साता बसेको स्थायी समिति बैठकमा पार्टी हेडक्वाटरबाटै त्यस्तो हल्ला चलाइएको भन्दै प्रतिवाद गरेका थिए । १४ पृष्ठ लामो लिखित प्रस्ताव राख्दै शर्माले अब पार्टीको नेतृत्व ‘प्रचण्ड’ले छाड्नुपर्ने भनेपछि यसमा बहस तीव्र बनेको छ ।

अध्यक्ष ‘प्रचण्ड’ले आफूहरुबीच फरक मत नभई एकमत गर्ने कोसिस हुने बताए । उनले जनार्दनसहितका नेताहरूले स्थायी समिति बैठकमा उठाएका प्रश्नहरूको जवाफसहितको दस्ताबेज आगामी केन्द्रीय समिति बैठकमा पेस गर्ने जानकारी पनि दिए ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि पूर्वतयारी स्वरूप हरेक प्रदेशमा परामर्श समितिको बैठक बस्ने निर्णय साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले गरेको थियो । सोही निर्णय अनुसार आजदेखि बागमती प्रदेशको बैठक बसेको हो । बैठक आज र भोलि दुई दिनसम्म चल्ने छ ।

बैठकको सुरुमा ‘प्रचण्ड’ले बैठकमा भएका छलफल र बहस बाहिर मिडियामा नलैजान नेताहरूलाई सचेत गराएका थिए । ‘मिडिया ट्रायल हामी कसैले नगरौँ,’ ‘प्रचण्डले भने ।

१२२ वटा पालिका माओवादी केन्द्रको नेतृत्वमा रहेको भन्दै उनले त्यहाँ जनअपेक्षा अनुसारका काम गरेर देखाउने बताए । उनले सरकारभन्दा सडक र सदनको मोर्चा अब प्रमुख हुने पनि बताए ।

नयाँ जनवादी क्रान्ति आफूहरूले भनेजसरी सम्पन्न नभए पनि संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक संसदबाट पास हुनु खुसीको कुरा भएको बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्