साफ च्याम्पियनसिप फुटबल : भुटानले मालदिभ्सलाई हरायो
काठमाडौँ- राजधानीमा जारी साफ यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भुटानले मालदिभ्सलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले मालदिभ्सलाई २-१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै समूह ‘बी’ मा रहेका भुटान र भारतले समान तीन-तीन अंक जोडेका छन् । पराजित मालदिभ्स भने अंकविहीन छ । यसअघि भारतले पहिलो खेलमा भुटानलाई १-० गोलअन्तरले पराजित गरेको थियो । भुटानको जितमा जिग्नम दोर्जी र नवाङ चोपेलले समान एक-एक गोल गरे । यता मालदिभ्सको लागि भने फिरकले एक गोल फर्काए ।
खेलमा पहिलो अग्रता भुटानले लियो । खेलको २२ औँ मिनेटमा भुटानका जिग्नमले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो । गोलकिपर तेन्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
सोही समयमा प्राप्त फ्रिकिकको सदुपयोग गर्दै मालदिभ्सले बराबरी गोल फर्कायो । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट प्रहार गरेका बलले जाली चुमेको थियो ।
त्यसपछि खेलको ८९ औँ मिनेटमा भुटानले पुनः अग्रता लियो । भुटानका नवाङले गोल गर्दै खेललाई २-१ गोलको अग्रतामा ल्याए । त्यसपछि खेलमा अर्को गोल हुन सकेन र अन्त भुटानको जीत पक्का भयो ।
उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपाल र बगंलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि सुरुआत हुनेछ ।