नोयाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
म्युनिक -२०१४ को विश्वकप विजेता जर्मन गोलरक्षक म्यानुएल नोयाले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका हुन् । बायर्न म्युनिकका ३८ वर्षीय भेट्रान गोलरक्षकले जर्मनीका लागि १ सय २४ खेल खेले ।
त्यसमध्ये ६१ खेलमा उनी कप्तान रहे । युरो २०२४ मा स्पेनविरुद्ध क्वाटरफाइनल उनको जर्मनीका लागि अन्तिम खेल रह्यो ।
नोयाले सामाजिक सञ्जालमा लेख्दै आफू सन् २०२६ को विश्वकप खेल्ने चाहना भए तापनि अहिले नै संन्यास लिने उपयुक्त समय भएको बताएका छन् । २०१४ को विश्वकप नोयाल चम्कने अवसर पाएका थिए । जर्मनीले चौथोपल्ट विश्वकप जितेको थियो र त्यसमा उनी प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक चुनिए । नोयाले आधुनिक फुटबलमा ‘स्विपर किपर’ भूमिकालाई स्थापित गरे
यसक्रममा आफ्नो पेनाल्टी बक्सबाट बाहिर आएर आक्रमणलाई सहयोग गर्थे । त्यस स्थितिमा उनी ‘आउट फिल्ड’ खेलाडीका रूपमा पनि रहे । नोयाले संन्यासको निर्णय गर्नका लागि आफूले परिवारसँग छलफल गरेको पनि बताए । यस्तै उनले बुधबार बिहान मात्रै आफ्नो निर्णय जर्मन प्रशिक्षक जुलियन नेगल्समनलाई जानकारी दिएको पनि बताए । उनले अब आफ्नो पूरा ध्यान बायर्नका लागि केन्द्रित हुने पनि दाबी गरे । बायर्नका लागि उनले ११ बुंडेसलिगासँगै दुई अवसरमा युरोपेली च्याम्पियन्स लिग जितेका छन् ।
यसपल्टको च्याम्पियन्स लिगको फाइनल बायर्नको घरेलु मैदान एलिनाज एरिनामा हुनेछ । २०२२ को डिसेम्बरमा स्किइङ दुर्घटनामा नोयाका खुट्टा भाँचिएको थियो । २०२४ को युरोकै लागि मात्रै उनी जर्मन टिममा फर्केका थिए । यसक्रममा उनले पहिलो रोजाइको गोलरक्षक भूमिका जितेका थिए ।
त्यसअगाडि शृंखलाबद्ध कमजोर प्रदर्शनका कारण उनको चर्को आलोचना भए तापनि युरोमा भने राम्रो प्रदर्शन गरे । उनले भनेका छन्, ‘मैले जर्मनीका लागि जति खेलें, ती सबै क्षण उत्कृष्ट रहे । यो उपलब्धिका लागि म गर्व पनि गर्छुं । २०१४ को विश्वकप जित्नु सबैभन्दा विशेष अवसर रह्यो । यसपल्ट आफ्नो घरेलु मैदानमा युरो खेल्नुको अनुभव पनि विशेष रह्यो ।’ उनले २०२३ सम्म कप्तानी भूमिका निभाउन पाउने पनि आफ्ना लागि ठूलै उपलब्धि रहेको मानेका छन् ।
२०१० देखि २०१६ बीच जर्मनीले चार ठूला प्रतियोगिताको फाइनल यात्रा तय गरेको थियो र त्यसमा नोया नै गोलरक्षक रहेका थिए । २०१८ देखि २०२२ को विश्वकपमा भने जर्मनीको प्रदर्शन कमजोर रह्यो । यस्तै युरो २०२० मा पनि जर्मनीले राम्रो गर्न सकेन् । दस वर्षअघि विश्वकफ विजेता जर्मन टिमका थोमस मुलर र टोनी त्रुसले पनि युरो २०२४ पछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन् ।