Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षामन्त्री र पदाधिकारीलाई त्रिवि स्ववियुको चुनौती : प्रमाण ल्याउनुस् हामी दिन्छौँ सुरक्षा

बिहीबार, भदौ ६, २०८१

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले त्रिवि पदाधिकारीहरूलाई कसले, कहिले, कुन माध्यमबाट सुरक्षा थ्रेट दिएको हो प्रमाण सार्वजनिक गर्न माग गरेको छ।

स्ववियु सभापति श्यामराज ओझाले बुधबार विज्ञप्ति निकालेर पदाधिकारीहरूलाई कसले, कहिले, कसरी, कुन माध्यमबाट असुरक्षा दिएको हो प्रष्ट पार्न आग्रह गरेका हुन्।

साथै उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई लक्षित गर्दै आफ्नो अभिव्यक्ति पुष्टि गर्न पनि अनुरोध गरेका छन्।

मन्त्री भट्टराईले बुधबार बिहान फेसबुक र एक्समा पोस्ट गर्दै 'त्रिविमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ, त्रिविमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्छु,’ भनेकी थिइन्।

यो पनि: त्रिवि समाजशास्त्र विभागीय प्रमुख नियुक्तिमा कांग्रेस-एमालेबीच तानातान

साथै स्ववियु सभापति ओझाले विश्वविद्यालय जस्तो एउटा स्वायत्त निकायमा कुनै पनि प्रकारको दवाव, प्रभाव रहन हुँदैन र सबै पदाधिकारी, प्राध्यापक, विद्यार्थी तथा कर्मचारी सुरक्षित रहेर निर्वाध रूपमा शैक्षिक गतिविधिमा लाग्न पाउनुपर्दछ भन्ने मान्यतालाई ध्यानमा राखिएको पनि उल्लेख गरेका छन्।

‘पछिल्लो केही दिन यता विश्वविद्यालयका पदाधिकारीलाई असुरक्षा भएका कारण विश्वविद्यालयमा उपस्थित बन्न नसकेको भन्ने समाचार सम्प्रेषण भइरहेको विषयप्रति स्वतन्त्र विद्यार्थी युनियनको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘पदाधिकारीलाई सुरक्षा थ्रेट भएका कारण विश्वविद्यालयमा उपस्थित नभएको र उक्त असुरक्षा विद्यार्थीले सिर्जना गरेको भन्ने भ्रम निर्माण गरिनुले हामीलाई चकित तुल्याएको छ। कसले? कहाँ? कुन माध्यमबाट? कसलाई? कुन प्रकारको? धम्की दिएको हो त्यो नखुलाई विद्यार्थी राजनीति र आन्दोलनका आजसम्मका उपलब्धिहरुको समेत अबमूल्यन हुनेगरी विश्वविद्यालयका पदाधिकारीको गैर–जिम्मेवारपूर्ण अभिव्यक्ति र मिडियाबाजीले हामीलाई लज्जित तुल्याएको छ।’

साथै उनले पदाधिकारीलाई धम्की आएको नबुझिएको पनि बताएका छन्।
‘विश्वविद्यालयको शैक्षिक गरिमामाथि नै आँच आउने गरी अत्याधिक मिडियाबाजी भएपश्चात् सोधिखोजी गर्दा पदाधिकारीका कार्यालय प्रमुखहरूलाई समेत धम्की आएको जानकारी नभएको बुझिएकाले सुरक्षाको विषय भन्दै आममानिसमा भ्रम सिर्जना गर्दै पपुलिस्ट शैलीमा राजनीतिक नेताको नजिक हुने दाउमा अहिलेका पदाधिकारीहरू लागेका हुन भन्ने शङ्का उत्पन्न भएको छ,’ स्ववियु सभापतिले निकालेको विज्ञप्तिमा दाबी गरिएको छ।

त्रिवि पदाधिकारीलाई सुरक्षाको सौखिन पलाएका कारण विश्वविद्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गर्ने गरिएको स्ववियुको आरोप छ।

‘विश्वविद्यालयको स्ववियु, नजिकैको प्रहरी प्रशासन, आफ्नै कार्यालय, आफ्नो टिमलाई समेत जानकारी नगराई शिक्षामन्त्रीलाई फेसबुकमा स्ट्याटस लेख्न उत्प्रेरित गर्ने पदाधिकारीहरूलाई कसले–कसरी–कहिले–कुन माध्यमबाट असुरक्षा दिएको हो स्पष्ट पार्न अनुरोध गर्दै अनावश्यक राजनीतिकरणमा लाग्नुको साटो प्रमाणसहित आफ्नो अभिव्यक्ति पुष्टि गर्न शिक्षामन्त्रीलाई समेत अनुरोध गर्न चाहन्छौं,’ सभापति ओझाले भनेका छन्।

साथै विश्वविद्यालय चलाउन नसक्ने हो भने पदबाट राजीनामा दिनसमेत स्ववियुले भनेको छ।

‘आफ्नो क्षमताले विश्वविद्यालय चलाउन सकिँदैन भन्ने लागेका कारण बहानाबाजी गरेर आफ्नो दायित्वबाट पन्छिने मनसाय राखिएको हो भने पदबाट       राजीनामा दिन समेत पदाधिकारीहरूलाई चुनौती दिन चाहन्छौं,’ स्ववियु सभापति ओझाले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

त्रिविमा समाजशास्त्र केन्द्रीय विभाग प्रमुखका लागि नाम सिफारिस गरिएपछि विवाद देखा पर्दै आएको छ। यही कारण त्रिवि पदाधिकारीहरू केही समयदेखि कार्यालय अनुपस्थित रहँदै आएकोमा बुधबारदेखि कार्यालय गएका थिए।

मानविकी तथा समाजशास्त्र संकायकी डिन कुशुम शाक्यले केही दिनअघि विभागीय प्रमुखमा टीकाराम गौतम, पासाङ शेर्पा र मनहरि ढकालको नाम सिफारिस गरेकी थिइन्। गौतमलाई पहिलो नम्बरमा राखेर सिफारिस गरिएपछि यो विषयलाई लिएर त्रिविमा विवाद भइरहेको छ।

सत्तापक्ष नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नेताहरू नै यस विषयमा विभाजित देखिँदा पछिल्लो समय त्रिविमा सुरक्षा चुनौती थपिएको हो।

यस्तै स्ववियुका सचीव सिदान्त भट्टले बिज्ञपति निकालेर खण्डन गरेका छन् । स्ववियु त्रि.वि विश्वविद्यालयमा विद्यार्थी, प्राध्यापक, कर्मचारी यसका साथै विश्वविद्यालयका सबै पदाधिकारी सुरक्षित भएर सम्बन्धित शैक्षिक तथा प्राज्ञिक गतिविधि सञ्चालन हुनुपर्ने माग गरेको छ ।

पछिल्लो केहिदिन देखि विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा रिक्त रहेको विभागीय प्रमुख नियुक्तिमा स्वार्थ समुह / व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयको पदाधिकारीमाथि डर. धम्की दिएको भनी विभिन्न सञ्चार माध्यममा सम्प्रेषण भएका समाचारप्रति स्ववियु विश्वविद्यालय क्याम्पसको गम्भीर ध्यानकर्षण भएको छ बिज्ञप्तीमा भनिएकाे छ ।

प्रमुख त्रिभुवन विश्वविद्यालयका सबै केन्द्रीय विभागहरूमा बरिष्ठ प्राध्यापकको आधारमा नियुक्ति हुने विश्वविद्यालय आफैले बनाएको कार्यविधिलाई लत्याएर आफू निकट, राजनीतिक स्वार्थ जोडिएको कुनै एक व्यक्तिलाई विभागीय बनाउन सिफारिस गराउदै स्वार्थ समुहबाट दिएको अनुचित दबाब तथा धम्कीको स्ववियु घोर भर्त्सर्ना गर्दछ । 

यस्ता दबाब र प्रभावमा परेर विश्वविद्यालयको ऐन, विनियम तथा कार्यविधि विपरित हुनै पनि निर्णय नगर्न तथा विद्यार्थी र विश्वविद्यालयमैत्री निर्णय र निर्धक्क भएर गर्न समेत त्रि.वि. पदाधिकारी समक्ष स्वावियु हार्दिक अनुरोध गर्दछ । कुनैपनि राजनीतिक दबाबमा पारी गराउन खोजेका यस्ता निर्यणले विश्वविद्यालयलाई थप दलीयकरण गर्न प्रशय गर्ने तथा राजनीतिक नियुक्ति खाएर विश्वविद्यालयलाई दलगत राजनीतिको केन्द्र बनाउन उद्दत व्यक्ति/समुहदेखि समयमै सचेत हुन समेत स्ववियु त्रिवि पदाधिकारी समक्ष जोडदार माग गर्दछ ।

यसका साथै त्रिभुवन विश्वविद्यालयको मुटुको रुपमा परिचित परीक्षा नियन्त्रण कार्यालयमा हुने चरम लापरबाही तथा हेलचक्रयाँईले गर्दा सयौं विद्यार्थीको उत्तरपुस्तिका पटकपटक हराएको गम्भीर घटनामाथि छानबिन गर्न बनेको उच्च स्तरीय छानबिन समितिद्वारा तयार पारेको प्रतिवेदनले त्रि.वि. परीक्षा नियन्त्रक सहित ७ जना माथि गरेको कारबाही सिफारिस यथाशिघ्र कार्यान्वयन गर्न अनुरोध गर्दछौ । परीक्षा जस्तो संवेदनशील विषयमा गरिने यस्तो क्रियाकलाप स्ववियुलाई कुनैपनि कष्टमा मान्य नहुने जानकारी समेत गराउदछौं, अन्यथा आन्दोलनमा उत्रने कुराको चेतानवी समेत दिन चाहन्छाँ ।
अन्त्यमा विश्वविद्यालय हाता भित्र हुने सबैखाले उच्छृङ्खल अमर्यादित गतिविधिहरुको भण्डाफोर गर्दै यस विरुद्ध एकजुट भई भण्डाफोर गर्न सम्पूर्ण विद्यार्थीलाई अपिल गर्दै त्रिभुवन विश्वविद्यालयलाई सुरक्षित, प्राज्ञिक र अनुसन्धानमूलक स्वायत्त निकायको रुपमा नियमानुसार अघि बढाइ सहयोग गर्नुहुन सम्बन्धित सबै सरोकारवाला निकायहरुलाई हार्दिक आवहान समेत गर्दछ ।

received_1913219332517328-1724296025.jpeg
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्