Nic Ad Nic Ad
Nic Ad Nic Ad

४५ दिनदेखि सुकेटारमा उडान ठप्प

बिहीबार, भदौ ६, २०८१

ताप्लेजुङ - ताप्लेजुङको सुकेटार विमानस्थलमा ४५ दिनदेखि उडान ठप्प भएको छ । प्रतिकूल मौसमका कारण सुकेटारमा एक मात्र नेपाल वायु सेवा निगमको उडान ठप्प भएको हो । 

बर्खा मौसम सुरु भएसँगै सुकेटार विमानस्थलमा हवाई उडान अवरुद्ध बनेको ताप्लेजुङस्थित नेपाल  वायु सेवा निगमको स्टेसन कार्यालयले जनाएको छ । स्टेसनका कर्मचारी किरण गिरीका अनुसार मौसम प्रतिकूलताकै कारण उडान ठप्प भएको हो । गत जेठ ११ गते शुक्रवारदेखि सुकेटार विमानस्थलमा उडान बन्द भएको निगमले जनाएको छ । 

हिमाली जिल्ला भएकाले यहाँ जेठको दोस्रो सातापछि प्रायः मौसम नखुलेको अर्थात् बाक्लो हुस्सु र कुहिरो लाग्न सुरु भएको स्टेसन इन्चार्ज नारायण कार्कीले जानकारी दिए । कार्कीका अनुसार यसपालि दिनहुँ जसो वर्षा भएको र निरन्तरको वर्षा तथा हुस्सुका कारण उडान सञ्चालनमा ल्याउन असम्भव भएको हो । 

उडान ठप्प हुँदा सेवाग्राही भने हवाई सेवा उपभोग गर्नबाट वञ्चित भएका छन् । उडान नहुँदा ताप्लेजुङको भ्रमणमा भित्रने आन्तरिक तथा बाह्य पर्यटक साथै सर्वसाधारण सेवाग्राहीले हवाई सेवा लिन नपाएका हुन् । उडान सञ्चालनका लागि अहिले पनि मौसम अनुकूल भई नसकेको निगमले जनाएको छ । हाल ताप्लेजुङमा दिनहुँ जसो वर्षा भइरहेको छ भने यस वर्ष वर्षमायामा तुलनात्मक रूपमा पानी पनि बढी परेको छ ।

यता मौसममा केही सुधार आइरहेको र दसैँ तिहारजस्ता चाडपर्व नजिकिएकाले उडान सञ्चालन गर्ने तयारी भने भइरहेको निगमको स्टेसन कार्यालयले जनाएको छ । आउने साताको बुधवारदेखि निगमले उडान सञ्चालन गर्ने तयारी गरिरहेको स्टेसन कार्यालयका कर्मचारी गिरीले जानकारी दिए  । निगमको ट्विनअटर जहाजले यात्रुको उपलब्धता अनुसार हप्तामा तीन पटकसम्म काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्