Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीका कारण जनजीवन प्रभावित

बिहीबार, भदौ ६, २०८१

भजनी (कैलाली) - भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् । 

बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काँढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो । पूर्ण रूपमा डुबानमा परेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिए । 

नगरपालिकाको वडा नं ८ अधिक प्रभावित भएको छ । उक्त वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ । वर्षा नरोकिएकाले उनीहरूको व्यवस्थापनमा समस्या भएको छ ।

घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीय कल्लु चौधरीले बताए । केही छिमेकी अन्नपात छाडेर ज्यान जोगाउनतर्फ लागेकाले धेरै क्षति भएको उनले बताए । भजनी नगरपालिका वडा नं ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ । 

बाढीबाट वडा नं ५ को लालभोझी क्षेत्रमा पनि सयौँ परिवार विस्थापित भएको दिपेश बुढाले जानकारी दिए। जोशीपुरको वडा नं ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ । नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रभावितहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगरप्रमुख केवल चौधरीले बताए । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्