Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई महिनामा मनसुनजन्य विपदबाट १९३ जनाको मृत्यु

बिहीबार, भदौ ६, २०८१

काठमाडौँ-नेपालमा मनसुन भित्रिएयता भएका विपद्का घटनाबाट अहिलेसम्म १९३ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार अविरल वर्षा, पहिरो, चट्याङ तथा बाढीका कारण १९३ जनाको मृत्यु भएको छ।यो विवरण नेपालमा मनसुन भित्रिएको समय अर्थात् गत जेठ २८ गते यताको हो। बाढीकै कारणले मात्रै ५० जनाले, पहिरोले २२ जनाले, अविरल वर्षाका कारण एक जना र चट्याङले लागेर १५ जनाको मृत्यु भएको हो।

यसरी ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै पुरुष छन्। पुरुष ८२, महिला ५५, बालक २१ र बालिका ३५ जनाको मृत्यु भएको प्रधान कार्यालयले जनाएको छ।

दुई महिनाको अवधिमा भएको विभिन्न प्रकारका विपद्का घटनाबाट २४६ जना घाइते भएका छन्। जसमध्ये १०९ जना पुरुष घाइते छन्। ७६ जना महिला, २१ जना बालक र ३० जना बालिका घाइते छन्। त्यस्तै विपद्का घटनामा परी ४९ जना मानिसहरू बेपत्ता छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गत असार २८ गते चितवनको मुग्लिन सडक खण्डमा भरतपुर महानगरपालिका-२९ सिमलतालमा खसेको दुई वटा बसमा सवार ४२ जना अझै बेपत्ता छन्। त्यहाँ बेपत्ता भएकामध्ये २४ वटा शव फेला परेको थियो। २० जनाको सनाखत भई परिवारले बुझिसकेका छन् भने ४ जनाको सनाखत हुन बाँकी छ।

मानवीय क्षतिसँगै चौपाया र भौतिक संरचनामा समेत क्षति पुगेको छ। चौपाया मात्रै ८७५ वटा, ३३९ वटा घर, ११९ वटा गोठमा क्षति र १२२१ वटा घर विस्थापित भएका छन्। ५ वटा विद्यालय, ५१ वटा पुल र दुई वटा सरकारी कार्यालयमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा चार जना मानिस घाइते भएका छन्। ६ वटा घर र ३ वटा गोठमा क्षति पुगेको छ भने ३१ परिवार विस्थापित भएका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्