Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्य बीमाको सुविधा थैली कार्यान्वयनमा

बिहीबार, भदौ ६, २०८१

काठमाडौँ - स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराइने सुविधा थैली अन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ । 

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराइने सुविधा थैली अन्तर्गतका सेवा सुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए। बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागू गर्ने भने पनि तयारी नपुगेको कारणले भदौदेखि लागू गरिएको हो । 

बोर्डले विज्ञहरूको सुझाव अनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दररेट कायम गरेको छ । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमा अन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि छन् । अस्पताल टिकट रु ५० तोकिएको छ । शय्याको प्रतिदिन रु. दुई सय ५० राखिएको छ । यस अघि साधारण शय्याको रु. दुई सय थियो ।

स्वास्थ्य बीमा कार्यक्रममा अन्तर्गत पाँचजना परिवारसम्मका लागि रु. तीन हजार पाँच सय बराबरको योगदानका आधारमा रु. एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । 

यस्तै, थप प्रतिसदस्य रु. सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु. दुई लाखसम्म तोकिएको छ ।

बीमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्