Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुसहर समुदायद्वारा गृह मन्त्री लेखकलाई ज्ञापन पत्र

शुक्रबार, भदौ ७, २०८१

सिरहा- गृह मन्त्री रमेश लेखकलाई यहाँका दलित मुसहर समुदायले नागरिकतासम्बन्धी समस्या समाधानका लागि आज ज्ञापन पत्र बुझाएका छन् । लहान नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच ‘सवरी सङ्कल्प समाज’ नामक गैरसरकारी संस्थाका अगुवाले  गृह मन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उक्त ज्ञापनपत्रमा मुसहर समुदायलाई नेपालका आदिवासी घोषित गर्नुपर्ने, वंशजका आधारमा नेपाली नागरिकता दिनुपर्ने, मुसहर समुदायका भूमिहीन सुकुम्वासीलाई खेतीगोग्य जमिन र घरबासको व्यवस्था गर्नुपर्नेलगायतको पाँच बुँदे माग रहेको छ । ज्ञापन पत्र बुझ्दै गृह मन्त्री लेखकले मुसहर समुदायको समस्यालाई गम्भीरतापूर्वक अध्ययन गर्ने र समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । उनले भने, “तपाईँहरूको समस्याप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो तपाईँहरूको मात्र नभएर राज्यकै समस्या भएकाले यसको समाधान गर्न उचित कदम चालिने छ ।”

अधिकारकर्मी अरुण सदायले ज्ञापन पत्र बुझाउँदै मुसहर समुदाय पछाडि पर्नुमा राज्यको विभेदकारी नीति र अन्यायपूर्ण सामाजिक आर्थिक संरचना नै मुख्य कारक रहेको बताए । साथै उनले दलित समुदायभित्रको अति सीमान्तकृत समुदायको रूपमा रहेको मुसहर जातिको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक उत्थान नभएसम्म समृद्ध राष्ट्रको कल्पना गर्न नसकिने बताए ।

मधेस प्रदेशमा मुसहर समुदायको सङ्ख्या दुई लाख ४७ हजार पाँच सय ५५ रहेको तथ्यांक छ । अधिकांश मुसहर समुदायका नागरिक नागरिकताविहीन छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्